• १६ चैत २०८१, शनिबार

बालमैत्री नगर बनाउने अभियानमा वालिङ नगरपालिका

blog

बालमैत्री नगर बनाउने अभियानमा जुटेका वालिङका जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवालाहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ(स्याङजा), चैत १३ गते । स्याङ्जाको वालिङ नगरपालिकालाई आगामी २०८३ मङ्सिर सम्ममा पूर्ण रुपमा बालमैत्री बनाइने भएको छ । 

दुई वर्षपछिको अन्तराष्ट्रिय बाल अधिकार दिवसका दिन वालिङलाई बालमैत्री नगर घोषणा गर्ने योजनाका साथ तयारी सुरु गरिएको नगरउप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । वालिङलाई बालमैत्री घोषणा तथा कार्यान्वयनका लागि नगरपालिका कार्यविधि नै बनाएर अगाडि बढ्ने उहाँको भनाइ छ । 

सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा गरिएको कार्यक्रममा जनप्रतिनिधिहरुले दुई बर्षको अवधीमा बालमैत्री बनाउने प्रतिबद्धता जनाएका हुन् । 

बालमैत्री नगर घोषणा गर्ने तयारीका लागि सम्पुर्ण सरोकारवालाहरुको सहयोगको अपेक्षा राख्दै उपप्रमुख तिवारीले स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकामा छिट्टै बाल अधिकार सुनिश्चित गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

नगरलाई बालमैत्री पालिका घोषणाका लागी विभिन्न ५१ सूचकहरु पुरा गर्नुपर्ने राष्ट्रिय बाल परिषद गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न सके देशको भविष्य समेत उत्कृष्ट रहन्छ ।” 

अधिकृत वाग्लेले बालबालिकाको अधिकार र अवस्था, वालिङ नगरपालिकामा बालबालिकाको तथ्याङ्क र अवस्था, बालमैत्री स्थानीय शासनको सुचाकाङ्क, सरोकारवालाको भूमिका तथा बालमैत्री स्थानीय शासन साझा प्रतिवद्वता लगायतका विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जाकारी गराउनुभएको थियो । 

सो अवसरमा वालिङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्वतामा जनप्रतिनिधि तथा कर्मचारीहरुले सामुहिक हस्ताक्षर गरेका छन् । बालबालिका अन्तर्गत १८ वर्ष पूरा नभएका अर्थात छ हजार ५ सय ७० दिन सम्म उमेरका पर्ने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । 

वालिङ नगरपालिकामा कुल जनसंख्याको २८.५७ प्रतिशत बालबालिका रहेको तथ्याङ्कले देखाएको छ । ११ पालिका रहेको स्याङ्जामा भीरकोट नगरपालिका पहिलो बालमैत्री नगर घोषणा भएको छ । जिल्लाका अन्य पालिकाहरु पनि बालमैत्री अभियानमा जुटेको प्रमुख पौडेलले बताउनुभयो ।