• १६ चैत २०८१, शनिबार

दुर्घटनामा वडाध्यक्षसहित पाँच जना घाइते

blog

राममणि दाहाल
हेटौँडा, चैत १३ गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँ बस्ती सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष घाइते हुनुभएको छ ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख २३६५न.को तोरी लोड बोकेको ट्रक बिग्री साइटमा रोकी राखेको अवस्था मनहरीतर्फबाट सुनाचुरीतर्फ जाँदै गरेको ना १ ब ३०६६ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका ६ चौकीटोल बस्ने मनहरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष युवराज थपलिया घाइते हुनुभएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार मङ्लबार भएको उक्त दुर्घटनामा परी वडाध्यक्ष थपलियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

थपलियालाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, मनहरी गाउँपालिका ६ नयाँ बस्तीअन्तर्गत पूर्व–पश्चिम सडक खण्डमा ट्याङ्कर र ट्रक एक आपसमा ठक्कर खाई मङ्गलबार दुर्घटना हुँदा दुवै सवारी साधनका चालक र सहचालक गरी चार जना घाइते भएका छन् । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ख ८३७६ नम्बरको कालो मोबिल बोकेको लोड ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ख ३२३७ नम्बरको माटो बोकेको लोड ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक पर्सा जिल्ला परवानिपुर ३ बस्ने वर्ष २५ का राजु कुमार साह र सह–चालक वर्ष २६ का राकेशकुमार कुसवाहकाे मनहरी अस्पतालमा उपचार भएको छ । 

यस्तै, ट्याङ्कर चालक भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने वर्ष २७ का महेश पाण्डे र सह–चालक पर्सा जिल्ला बहुदरमाई गाउँपालिका ७ बस्ने वर्ष १८ का गोबिन्द पटेललाई उपचारका लागि चितवन मेडिकल कलेज  चितवनमा पठाइएको प्रहरीको भनाइ छ ।