• १३ चैत २०८१, बुधबार

एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाख ५१ हजार पुरस्कार

blog

छत्रकोट गाउँपालिका–३ को सरस्वती मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिँदै विद्यार्थी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, चैत १२ गते । गुल्मीको छत्रकोट गाउँपालिकाले एसइई परीक्षमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ । 

गाउँपालिकाको शिक्षा समितिको चैत २ गते निर्णय अनुसार ३.९० देखि ३.९९ जिपिए ल्याउनेले ५१ हजार र ३.८० देखि ३.८९ लिपिए प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार गाउँपालिकाले प्रदान गर्नेछ । 

यो वर्ष छत्रकोट गाउँपालिकाका दुई परीक्षा केन्द्रबाट एक सय पाँच जना छात्रा र एक सय २२ छात्र गरेर दुई सय २७ जनाले एसईइ परीक्षा दिइरहेको छत्रकोट गाउँपालिकाले शिक्षा शाखाका प्राविधिक सहायक बिनोद न्यौपानेले जानकारी दिनुभयो । 

शैक्षिक सत्र २०८० मा छात्रा एक सय ५२ र छात्र एक सय ४४ गरेर दुई सय ९७ विद्यार्थीले एसइई दिएका थिए भने ०७९ सालमा छात्रा दुई सय र छात्र एक सय ५३ गरेर तीन सय ५३ जना एसईइ परीक्षामा सहभागी भएका थिए । छत्रकोटमा नौ सामुदायिक र एक संस्थागत गरेर १० मावि, चार आधारभूत र १४ प्रावि छन् । 

गाउँपालिकाले पहिलेदेखि नै २.८ जिपिए ल्याएर गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्लस टु पढ्नेलाई पूर्ण छात्रवृत्ति तथा प्लस टु गरेर गाउँपालिकाभित्र स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।