• १५ चैत २०८१, शुक्रबार

नमिलेको फैसला (कथा)

blog

मने र उसको भाइबिच अंशबण्डा भई भिन्दाभिन्दै बसेका पनि आठ वर्ष वितिसकेको थियो । दाजुभाइबिच अंशबण्डा भई भिन्दै बसे पनि उनीहरूबिच असाध्यै मायाप्रेम थियो । एकअर्कामा लेनदेन, सरसहयोग चलि नै रहन्थ्यो । उनीहरू छुट्टिएपछि भाइ लेकमा बस्न गएको थियो भने दाइ भने बेँसीमा नै बस्थ्यो । दाइको घरबाट फटाफट हिँडेर जाने हो भने तीन घण्टामा भाइको बसाइ भएको ठाउँमा पुग्न सकिन्थ्यो । भाइको घरबाट जाँदा भने ओरालो पर्ने भएकाले दाइको घरमा पुग्न तीन घण्टाको समय अलि लाग्दैनथ्यो । 

धनजितले काकाको घरमा जान्छु भनेपछि बाबु मनेबाट अनुमति पाए ।  धनजितले झोलामा एउटा साडी राख्यो, आफूलाई चाहिने एक जोर लुगा पनि छुट्यायो । त्यो घरमा उसको बुवा र ऊ मात्रै थिए । उसको विवाह भएको थिएन । आमा पनि ऊ सानै छँदा वितेकी थिइन् । घरमा महिला कोही नभए पनि झोलामा राखेको साडी उसले कताबाट ल्याएको थियो र किन झोलामा राख्यो भन्ने कुरा उसलाई मात्र थाहा थियो । त्यसपछि घरबाहिर निस्केर धनजितले आफ्नो बुवालाई ‘जान्छु है’ भन्यो । मनेले ‘चाँडै फर्के है’ भन्दा धनजितले ‘दुई÷तीन दिनमा त आइहाल्छु नि’ भनी ऊ हिँड्यो । घरबाट हिँडेको झन्डै चार घण्टा लगाएर धनजित काकाको घरमा पुग्यो । घरमा अपरिचित एउटी महिलाले चामल केलाइरहेको देख्यो उसले । मनमनै उसले सोच्यो– ‘को रहेछ काकाको घरमा यति राम्री केटी ।’ उसले ती महिलालाई सोध्यो– ‘यो सानेको घर होइन ?’ ‘हो’– उताबाट उत्तर आयो । मनेको भाइको नाम खास तनबहादुर भए पनि सानैदेखि उसलाई सबैले ‘साने’ भनेर बोलाउने गर्दथे । 

‘तपाईं को हो त ?’ धनजितले ती महिलालाई सोध्यो । महिलाले उत्तर दिइन्– ‘साने मेरो भिनाजु हो ।’ धनजितले अरू केही पनि सोधेन । ऊ एकोहोरिन थाल्यो । एकछिन अघिसम्म थकाइले लखतरान देखिएको ऊ एकाएक फुर्तिलो देखियो । एकोहोरिँदा एकोहोरिँदै पनि ऊ खुसीले उन्मत्त भएको स्पष्ट देखिन्थ्यो । 

‘पानी खान पाइन्छ ?’ धनजित एक्कासि बोल्यो । 

‘पाइन्छ’ भन्ने शब्दले ऊ झल्याँस्य भयो । ती महिला पानी लिन घरभित्र छिरिन् । वास्तवमा धनजितले ती महिलालाई आफ्नो बनाउन चाहेको थियो । आफ्नो विवाह गर्ने उमेर पनि जान लागेको सम्झी धनजितलाई ती महिलासँग विवाह गरिहालौँ जस्तो लागेको थियो । 

‘लिनुस् पानी,’ दक्षिणतिर फर्किएर उभिरहेको धनजित यी दुई शब्द सुन्ने वित्तिकै उत्तरतर्फ फरक्क फर्कियो । भरी पानी भएको स्टिलको अङ्खोराको पिँधलाई दुई हातले समाई धनजित भएतिर तेस्र्याइरहेको देखिन्थ्यो । ऊ केही कदम अगाडि बढ्यो र आङ्खोरालाई लिएर घटघट पानी खान थाल्यो । उसलाई खासै पानी खान त मन लागेको होइन, तैपनि पानी मागिहालेको भएर ऊ त्यसलाई खान बाध्य भएको हो । भाँडामा भएको आधी जति पानी खाएर त्यो अङ्खोरा फर्काइदियो । ती महिलाले अङ्खोरा भुइँमा राखी र ऊ गुन्द्रीमा बसी । 

‘तपाईंलाई मैले चिनिन नि,’ महिलाले आफ्नो परिचय खोजेको बुझेर उसले भन्यो, ‘साने मेरो आफ्नै काका हो, मेरो घर बेँसीमा पर्छ, काकालाई भेटौँ भनेर आ’को, अनि काकाकाकी खोइ त ?’  ‘वनमा दाउरा लिन जानु भा’छ, आउने बेला भयो अब ।’ उसले जबाफ दिई । 

रातिको खाना खाइसकेपछि देखाइएको कोठामा धनजित सुत्न गयो । खाटमा पल्टिएपछि उसले यस्तो सोच्यो, ‘घरबाट ल्याएको साडी बरु म काकीलाई दिन्नँ । त्यो कान्छीलाई दिन्छु । साडी देखेपछि मसँग बिहे गर्न मानिहाल्छे कि ।’ खाना खानुअघि काकाकाकीसँग भएको गफगाफबाट कान्छीको बिहे भएको छैन भन्ने उसले बुझिसकेको थियो र त कान्छी सुतेकै कोठैमा गएर साडी दिने आँट गर्न लाग्यो । ऊ खाटबाट जुरुक्क उठ्यो । घरबाट ल्याएको झोलाको चेन खोल्यो र साडी झिक्यो । त्यो साडी कोठामै फालिराखेको प्लास्टिकको झोलामा राख्यो र ढोकाबाहिर निस्क्यो । त्यसपछि ऊ सरासर कान्छी सुत्ने कोठामा गयो र ढोका ढकढक गरी हिर्कायो । दिदीले ढकढक्याएकी होला भन्ने ठानी कान्छीले ढोका खोली । बत्ति निभिसकेको रहेछ । अँध्यारो भए पनि धनजित एक्कासि भित्र गयो । कान्छी आत्तिई । आत्तिए पनि केही बोल्न सकिनँ । धनजितले प्लास्टिकको पोको कान्छीतिर तेस्र्याउँदै भन्यो– ‘यसमा साडी छ, तपाईंलाई ।’ यति भन्दा उसको स्वर अड्की अड्की आएको थियो । डरले हात कामेका थिए । कान्छी अक्क न बक्क भई हेरि मात्र रही । रातिमा स्पष्ट अनुहार नदेखिएको भए पनि त्यसरी साडी दिने व्यक्ति धनजित हो भन्ने उसले ठम्याइसकेकी थिई । 

यत्तिकैमा घरको मूल ढोका खोलेको आवाज आउँछ । यो आवाजले धनजित डराएर हत्तपत्त बाहिर निस्कन्छ । साने पिसाब फेर्नका लागि मूल ढोकाबाट बाहिर निस्किएको रहेछ । साने र धनजितको जम्मा भेट हुन्छ । सानेले पल्ला घरको साइँलो आफ्नी साली भएको ठाउँमा आएको ठानी नजिकै रहेको बन्चरोले खुट्टामा हिर्काउन खोज्छ तर धनजित चिप्लिएर लड्न खोज्दा बन्चरो टाउकोमा लाग्छ । धनजित त्यहाँ नै ढल्छ ।

पल्ला घरको साइँलोले कान्छीलाई असाध्यै मन पराएको थियो । साँइलोले सालीलाई आफूसँग बिहे गरिदिन बारम्बार सानेलाई भन्ने गर्दथ्यो । तर साइँलोको कुनै इलम नभएका कारण कान्छीका दिदीभिनाजुले उसलाई कान्छी दिन मानिरहेका थिएनन् । त्यो रात साइँलो आफ्नी सालीको कोठाबाट बाहिर निस्किएको ठानी बन्चरोले खुट्टामा हान्न खोजेको थियो सानेले । 

त्यसरी ढलेको धनजित हो भन्ने बुझेपछि सानेले असाध्यै मन दुखायो । डरले लगलग काम्न थाल्यो । के गर्ने के नगर्ने उसले केही ठम्याउन नै सकेन । यत्तिकैमा सानेकी श्रीमती र साली पनि जम्मा भइसकेका थिए । तीनै जनाले धनजित मरिसकेको भन्ने ठानी लासलाई जङ्गलको बिचमा लगेर छाडिदिने सहमत जनाए । रात छिप्पिँदै गएपछि गाउँका प्रायः सबै मानिस सुतिसकेका थिए । साने, श्रीमती र साली तीनै जना मिलि तीन वटा जुटको बोरालाई एकआपसमा सिलाई ठुलो बनाए । धनजितको शरीरलाई उठाई त्यस बोरामा राखे । त्यसपछि झ्याइँकुटी बनाई नजिकै रहेको जङ्गलतिर लगे । जङ्गलको बिचमा पुगेपछि धनजितको शरीरलाई त्यहाँ नै छोडेर उनीहरू छिटोछिटो घरतर्फ फर्किए । 

मध्यरात भएपछि चिसो हावा बग्न थाल्यो । वातावरण पानी पर्ला जस्तो पनि देखिन्छ । चिसोको कारणले धनजितको होस खुल्छ । आफू कहाँ रहेको भन्ने उसलाई पत्तो भएन । जुरुक्क उठ्छ । यताउति हेर्छ, ठाउँ पत्ता लगाउन सक्दैन । चारैतिर जङ्गल मात्र देख्छ । विस्तारै उसलाई पहिलेको सम्झना आउन थाल्छ । आफू काकाको घरमा आएको सम्झन्छ । त्यहाँ कान्छी भएको कुराको याद आयो । कान्छीलाई आफूले मन पराएको उसले सम्झ्यो । कान्छीलाई उसको कोठामा गई साडी दिएको कुरा पनि सम्झन सक्यो । अनि ढोका खुलेको सुनी डराएर बाहिर निस्किएको समेत उसलाई याद आयो । त्यसभन्दा पछिको अवस्था उसलाई याद भएन । विस्तारै उसको कन्चटको घाउ दुख्न थाल्यो । दुखेको ठाउँमा उसले छाम्यो । त्यहाँ रगत कटकटिएको थाहा पायो । विस्तारै उसले अनुमान लगायो– ‘ए म कान्छीको कोठामा गएको भएर काकाले हिर्काएको हुनु पर्छ । म बेहोस भएपछि मरेको ठानेर यहाँ ल्याएर छोडेका हुन् जस्तो लाग्यो । वास्तवमा म कान्छीको कोठामा नराम्रो नियतले गएकै हैन । बिहेको प्रस्ताव राख्नका लागि मात्र गएको थिएँ तर मलाई हिर्काएर बेहोस बनाई यहाँ ल्याई छोडेर गएका रहेछन् ।’ वास्तवमा उसले जे सोच्यो ठिक सोचेको थियो ।

धनजित भाइको घरमा गएको झन्डै दुई सातासम्म पनि नफर्किएपछि मनेको मनमा चिसो पस्यो । भालिपल्ट मनमा अनेक शङ्का उपशङ्का बोकी मने धनजित गएको झन्डै १७ दिनपछि भाइको घरमा पुग्यो । मने र सानेको धेरैबेर घरायसीलगायत विषयमा कुराकानी भयो । कुराकानीका व्रmममा ‘खोइ त धनजित’ भनेर मनेले आफ्नो भाइलाई सोध्छ । ‘धनजित पनि यहाँ आएको छ र ?’ सानेले मनेसँग प्रतिप्रश्न गर्छ । 

‘दुई साताअघि यहाँ आउँछु भनेर आ’को थियो त, अहिलेसम्म घर गएको छैन ।’ मनेले डर मिश्रित अलि चर्को स्वरमा भन्यो । सानेको अनुहार आफू दोषी जस्तो हो भन्ने स्पष्ट देखिन्थ्यो । अनुहार पढेर मनेले साने डराएको सहजै अनुमान गर्न सक्थ्यो । सापट लगेको पैसा मागेका कारण भाइले धनजित माथि केही अपराध ग¥यो कि भन्ने उसको एक मनले सोच्यो पनि । 

मने आँगनमा बिस्कुन सुकाउँदै थियो । उताबाट चार जना प्रहरी आएर ‘साने भनेको तपाईं हो’ भनेर सोधे । उसले ‘हो’ मात्रै भन्यो । ऊ असाध्यै डरायो । धनजितलाई मारेको भएर आफूलाई प्रहरीले लिन आएको हो भनेर अनुमान गर्न कत्ति पनि बेर लगाएन उसले । 

मनेले प्रहरीमा गएर आफ्नो छोराको हत्या नै भएको ठोकुवा गरी किटानी जाहेरी दरखास्त दर्ता गरेका रहेछन् । जाहेरी दरखास्तको कसुरसम्बन्धी विवरणको बेहोरा यस्तो थियो– ‘मेरो छोरा धनजित ऋण सापट दिएको रकम उठाउन सानेकोमा आएकोमा उसले पैसा दिन आनाकानी गरेपछि भनाभन हुँदा मेरो छोरो धनजितलाई मारेर लास बेपत्ता बनाइराखेको देखिन्छ । मेरो छोरालाई हत्या गर्नका लागि साने र उसकी श्रीमतीको हात भएकाले दुवै जनालाई पव्रmाउ गरी कानुनबमोजिम आवश्यक कारबाही गर्न यो जाहेरी दरखास्त पेस गरेको छु  । 

‘तपाईं र तपाईंको श्रीमतीविरुद्ध व्यक्ति हत्या गरेको आरोप लगाइको छ, त्यसमा छानबिन गर्न आवश्यक भएकोले तपाईं र तपाईंको श्रीमतीलाई लिन आएका हौँ । खोइ तपाईंकी श्रीमती ?’ प्रहरीले एकै सासमा सानेलाई सुनायो । सानेले अरू केही नभनी प्रहरीको प्रश्नको मात्र उत्तर दियो, ‘ऊ त बनमा गा’की छे ।’

 प्रहरीले सानेको बयान लिन थाल्यो । बयान लिने व्रmममा उसलाई भनिएको थियो कि साँचो कुरा बताएको खण्डमा सजायमा धेरै छुट हुन सक्छ, नत्र भने आजीवन कैद बस्नुपर्ने हुन्छ । उसले ठान्यो कि साँचो कुरा बताएको खण्डमा चाँडै नै घर जान पाइन्छ । सानेले गरेको बयानको केही बेहोरा यस्तो थियो, ‘धनजित आएको दिनमा हामी सबै खान खाएर आफ्नो आफ्नो कोठामा सुत्न गएका थियौँ । पछि धनजित मेरो सालीको कोठामा गएको रहेछ । म पिसाब फेर्न बाहिर निस्कँदा ऊ सालीको कोठाबाट बाहिर निस्किँदै रहेछ । मैले पल्लाघरको साइँलो ठानी उसको खुट्टामा हान्छु भन्दा धनजितको टाउकोमा लागेको हो । ऊ त्यहाँ नै ढली मरेछ । त्यसपछि लासलाई बोरामा राखी हामी तीन जना मिलेर जङ्गलको बिचमा राखेर आएका हौँ ।’

अदालती प्रव्रिmया चल्दै गयो । सरकारी र प्रतिवादीहरूको साक्षीहरूलाई अदालतमा कागज गर्न बोलाइयो फैसला गर्ने दिनमा सरकारी वकिल र प्रतिवादीका कानुन व्यवसायीले आफ्नो आफ्नो बहस इजलाससमक्ष गरे । सरकारी वकिलले गरेको बहसको सङ्क्षिप्त बेहोरा यस्तो थियो, 

‘अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीले आफ्नो अपराध स्वीकार गरेका नै छन् । प्रतिवादीहरूले बोरामा लास बोकेर लगेको भन्ने कुरा मुचुल्काले देखाएको नै छ । किटानी जाहेरी सबैभन्दा महìवपूर्ण प्रमाण छँदै छ । सरकारी साक्षीहरूले पनि मृतकलाई सानेको घरमा देखेको भनेर बताएका छन् । यिनै कारणले गर्दा मागबमोजिम यी प्रतिवादीलाई सजाय होस् ।’

‘सबैभन्दा मुख्य कुरा लास बरामद भएको छैन । लास बरामद नभई यी प्रतिवादीहरूले धनजितलाई हत्या गरेको भन्ने कुरा हुनै सक्दैन । लास नभेटिएको अवस्थामा अन्य जस्तोसुकै प्रमाण भए पनि व्यक्तिलाई कसैले हत्या गरेको भनी आरोप लगाउन मिल्दैन ।’ प्रतिवादीहरूका कानुन व्यवसायीले गरेको बहसको सारसङ्क्षेप यही थियो । सबै प्रव्रिmया सकिएकाले न्यायाधीशले चार बजेतिर फैसला लेखिसक्ने भनी इजलासमा उपस्थितलाई सुनाए । 

निर्धारित समयमा न्यायाधीश इजलासमा आए र लेखिएको फैसलाको बेहोरा सुनाउन थाले– ‘मृतक भनिएकाको लास बरामद भएको देखिएन । लास जङ्गलको बिचमा राखेको मिसिल संलग्न कागजातबाट देखिएको छ । जङ्गलको बिचमा राखिएको लास जङ्गली जनावरले खाने प्रबल सम्भावना भएका कारण लास बरामद नहुनु स्वाभाविकै हो । घटनाको प्रकृति, वारदातको स्वरूप, मुद्दाको उठानलगायतका प्रमाणको विवेचनाबाट यी प्रतिवादीले नियतपूर्वक ज्यान मार्ने काम गरेको देखिन्छ । लास बरामद नभएको, लास जाँच मुचुल्का र लासको पोस्टमार्टम रिपोर्टसमेत हुन नसकेको भन्ने आधारले मात्र प्रतिवादीहरू निर्दोष मान्न मिलेन ।’

ज्यान मार्ने जस्तो जघन्य अपराधका सबै वारदातमा लास बरामद हुनै पर्छ भन्ने हुँदैन भन्दै न्यायाधीशले फैसला पढ्दै जान्छन्, ‘ज्यान मारिसकेपछि वारदातमा संलग्न व्यक्तिले लास दबाउन छिपाउन सकेसम्मको प्रयत्न गरेको हुन्छ । घटनाबारे अरू कसैलाई थाहा जानकारी नहोस् र आफूले गरेको अपराधको कानुनबमोजिमको सजाय भोग्नु नपरोस् भनी संलग्न व्यक्ति सचेत रहने र लास दबाई घटनालाई रहस्यको गर्भमा राख्ने परिस्थितिको सिर्जना गर्न सकेको अवस्थामा लास फेला नपर्नु स्वाभाविक हुन्छ । लास बरामद नभए पनि वारदातको प्रकृति र सङ्कलित सबुत प्रमाणका आधारमा ज्यान मारेको पुष्टि भए कानुनबमोजिम सजाय हुन्छ । लास बरामद नभएको आधारमा अपराधीलाई सजायबाट उन्मुक्ति दिनु न्याय र कानुनको दृष्टिमा उचित हुँदैन । लास बरामद नभएको भन्ने कुरा प्रतिवादीहरूको उन्मुक्ति पाउने आधार बन्न सक्दैन ।’ 

अतः उल्लेखित विवेचित आधार र कारणबाट तीनै जना प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) बमोजिमको अपराध गरेकाले सोही दफाको उपदफा (२) बमोजिम उनीहरूलाई जन्मकैदको सजाय हुन्छ भन्दै न्यायाधीशले अगाडि भने, ‘फैसलाको प्रतिलिपि साथै राखी कारागार कार्यालयमा कैदमा रहेका प्रतिवादीहरूलाई फैसलाको जानकारी दिनू । दायरीको लगत कट्टा गरी मिसिल नियम अनुसार अभिलेख शाखामा बुझाइदिनू ।’

केही समयपछि एक जना व्यक्ति छिटो छिटो हिँड्दै अदालतको परिसरभित्र छिर्छ । अदालतको पूर्वपट्टि रहेको भ¥याङबाट उक्त व्यक्ति दुई खुड्किलो माथि चढेको बेला माथिबाट न्यायाधीश तल झर्दै थिए । भ¥याङको बिचमा न्यायाधीश र सो व्यक्ति भेट भयो । दुवै भ¥याङमा उभिए । टाउको माथि उठाई सो व्यक्ति एकाएक बोल्छ– ‘सर सर म मरेको भनी यहाँ मुद्दा परेको छ रे, तर म मरेको छैन है ।’ न्यायाधीशले उक्त व्यक्तिको नाम सोध्छन् । ‘सर मेरो नाम धनजित हो ।’ उसले सहजै उत्तर दियो । न्यायाधीशलाई रिँगटा लागे जस्तो भयो । उनले भ¥याङको रेलिङ जोरसँग समाए र भ¥याङको खुड्किलामा नै बसे । मधुपर्क