• १८ जेठ २०८२, आइतबार

रेलमा आगो लागेको समाचार गलतः इन्जिनियर साह

blog

फाइल तस्विर

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ २० गते । जयनगर–कुर्था सञ्चालन हुँदैआएको रेलमा बिहीबार आगलागिको समाचार समाजिक सञ्जालमा भाइरल भइरहँदा सो सूचना पूर्णतः गलत भएको रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिनुभयो । 

“भारतको जयनगरबाट बिहीबार करिब ३ बजेतिर छुटेको रेलमा सवार यात्रुले एसिड ल्याउँदै गर्दा उक्त एसिड थोरै मात्रामा पोखिएर अर्को यात्रुको जिउमा परेको हो, आगो लागेको होइन” ई. साहले भन्नुभयोे । एसिड ल्याउने दुई जना महिला थिए । ती महिलाले साथमा पाँच लिटर ग्यास अट्ने सानो सिलिण्डरसहितको ग्यास चुल्हो पनि बोकेको उहाँले जानकारी दिनुभयो । 

“भारतबाट रेलमार्फत एसिड ल्याउँदैगरेको अवस्थामा यात्रु बस्ने सिटमाथि लगेज राख्ने स्थानमा राखिएको एसिड पोखिएको हो, रेलमा कुनै क्षति भएको छैन” साहले भन्नुभयो, “यात्रुको शरीरमा एसिडको छिट्टा परेको थियो उहाँको अवस्था सामान्य छ ।” एसिड ल्याउने दुई महिला र एक पुरुष रहेको जनाइए पनि दुई महिला प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । घटनाबारे रेल्वेले थप अनुसन्धान गरिरहेको साहले बताउनुभयो । 

धनुषा प्रहरीका अनुसार दुई महिलालाई नियन्त्रणमा लिइएको छ तर उनीहरुको साथमा एसिड फेला परेको छैन, घटनाको थप अनुसन्धान भइरहेको छ । रेल सञ्चालनमा आएको हिजो बिहीबार दुई महिना पुगेको छ । गत चैत १९ गते शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा रेलको उद्घाटन गर्नुभएको थियो ।