• १२ चैत २०८१, मङ्गलबार

चर्चामा नेपालगन्जको सुर्खेत रोड, फोटो खिच्नेको भिड

blog

नेपालगन्जको सुर्खेत रोडको सुन्दरता।तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १० गते। नेपालगन्जको चार लेन सडक अन्तर्गत सुर्खेत रोडको किनारका ‘बगमबेली’ फूलको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक देखिन्छ।

सडकको ग्रिनबेल्टमा लगाएका विभिन्न प्रजातिका फूल फुलेपछि यसको चर्चा भएको ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ का संयोजक डा. विनोद कर्णले जानकारी दिनुभयो।

उहाँले नेपालगन्जका छाडा चौपायाबाट ग्रिन बेल्टका बिरुवा जोगाउन ठुलो चुनौती रहे पनि आफूहरुले पालैपालो बिरुवामा सिंचाइ गर्ने र चौपाया धपाउने काम गर्दै आएकोले अहिले यस्तो देखिएको बताउनुभयो। 

डा. कर्णको टिमले सुरु गरेको विरुवा रोप्ने अभियानमा पछि भने विस्तारै उपमहानगरपालिका कार्यालयसँगै निजी तथा सामाजिक क्षेत्र पनि जोडिएका थिए।

नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले अब नेपालगन्ज न्यूरोडको ग्रिनबेल्ट र चार लेन सडकको फुटपाथमा पनि फूल रोपेर सुन्दरता कायम गर्नुपर्ने बताउनुभयो। 


हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा रोपेका बिरुवा हुर्केर अहिले सहर सुन्दर बनेको देख्दा खुसी लागेको बताउनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले चार लेन सडकको ग्रिनबेल्टमा हुर्किएका फूल र बिरुवाको संरक्षणमा उपमहानगरपालिकाले विशेष ध्यान दिँदै आएको बताउनुभएको छ।