स्मिता अर्जेल
मकवानपुर, चैत ९ गते । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको चौथो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उत्सव चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यस्तै, उपाध्यक्षमा लक्ष्मी पौडेल, सानी मोक्तान, सचिवमा हिरा तामाङ्, कोषाध्यक्षमा समाधि बल, उपसचिवमा सविता पौडेलसहित १५ सदस्यीय कमिटी चयन भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले पछिल्लो समय मकवानपुरले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभयो ।
स्वास्थ्य सेवामा संलग्न समस्त स्वास्थ्यकर्मीको पेशागत हकहित र अधिकारको संरक्षण एवम् सम्बर्धन गर्न संघले पहल गनुपर्ने उहाँले बताउनुभयो । “स्वास्थ्यकर्मीको पेशा संवेदनशील पेशा हो । तपाईंहरुले चाहेको खण्डमा धेरै राम्रा कामहरु हुनसक्छ भने तपाईहरुको लापरबाहीले ठुलो दुर्घटना हुनसक्छ । त्यसैले आफनो पेशाप्रति ईमान्दार र सचेत रहनुहोस्” उहाँले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिव नारायण पौडेलले चिकित्सा शिक्षा आयोगबाट सिफारिस भएदेखि स्वास्थ्यकर्मी उत्पादनसम्ममा व्यवस्थापनको पाटो चिसिदै गएको बताउनुभयो । स्वास्थ्य सेवासम्बन्धि बनेका २६ वटा ऐन र कानुनका समस्यामाथि पुनरावलोकन गरी संविधानले कल्पना गरेको समृद्ध स्वास्थ्य निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले संगठनले स्वास्थ्यकर्मीहरुको हकहित र अधिकारका निम्ति लड्न एक्येबद्धता जनाउनुपर्ने बताउनुभयो । संघीय निजामति सेवा ऐन, मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन तथा बागमती प्रदेश निजामति ऐन संशोधनका लागि बागमती प्रदेशसभामा छलफल पक्रिया अघि बढेको बताउनुभयो ।
नेतृत्व असल भएमात्र व्यवस्था राम्रो हुने कुरालाई प्रष्ट्याउदै उहाँले नेतृत्व सक्षम र क्षमतावान हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल नर्सिङ संघ मकवानपुर अध्यक्ष गङ्गा दाहाल, नेपाल प्राविधिक संघ वानका केन्द्रीय सचिव रेवती थापा, नेपाल चिकित्सक संघ बागमती अध्यक्ष हरिबहादुर खड्का, स्वास्थ्यकर्मी महासंघ नेपाल बागमतिका सचिव बिनोद लामिछाने, एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञवाली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागमतीका अध्यक्ष अनुप अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।