• १३ साउन २०८१, आइतबार

थारू सङ्ग्रहालय आर्थिक सङ्कटमा

blog

लीलाधर वली 

घोराही, जेठ २० गते दाङ घोराही उपमहानगरपालिका–१७, पनौरामास्थित थारू समुदायको सामाजिक तथा सांस्कृतिक पहिचान झल्काउने थारू सङ्ग्रहालय सङ्कटमा परेको छ । जिल्लाकै पुरानो तथा सांस्कृतिक पहिचान बोकेको यो सङ्ग्रहालय १३ वर्षअघि स्थापना गरिएको हो । आर्थिक अभावका सङ्ग्रहालय विगत तीन वर्षदेखि बन्द अवस्थामा छ । देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेहरूको सङ्ख्यामा कमी आएसँगै पछिल्लो समय बन्द भएको हो । सङ्ग्रहालय बन्द गरिँदा अवलोकनका लागि राखिएका सामग्री बिग्रिने खतरा बढेको स्थानीय तेजमान चौधरी बताउनुहुन्छ । 

विभिन्न सामग्रीहरूमा ढुसी र माकुरीको जालो लाग्न थालेको छ, चौधरीले भन्नुभयो, “नियमित रूपमा खुल्दा सरसफाइ हुन्थ्यो, लामो समय बन्द हुँदा त्यो पनि गर्न सकिएको छैन ।”  आर्थिक अभावमा सङ्ग्रहालय रेखदेख गर्ने कर्मचारीको व्यवस्थापनमा पनि समस्या भएको गुनासो उहाँले थियो । दाङ थारू समुदायको उद्गमस्थल भएकाले विश्वभर चिनाउन उक्त सङ्ग्रहालय स्थापना गरिएको थारू समुदायका अगुवाहरू बताउँछन् । राज्यले कुनै पनि सहयोग नगर्दा सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको थारू कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरी बताउनुहुन्छ ।

सङ्ग्रहालय सञ्चालनमा आएको आर्थिक सङ्कटले थारू समुदायको मौलिक पहिचानको संरक्षण तथा संवद्र्धनमा समस्या देखिएको गुनासो उहाँको छ । उहाँले पुनः सञ्चालनका लागि स्थानीय सरकारसँग सहयोगको माग गर्नुभयो । घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरी थारू सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने योजना रहेको बताउनुहुन्छ ।

“थारू समुदायको कला संस्कृति संरक्षणसँगै अध्ययन गर्न आउनेहरूलाई जानकारी दिने उद्देश्यले स्थापना गरिएको सङ्ग्रहालय समस्यामा छ,” वडाध्यक्ष चौधरीले भन्नुभयो, “अहिले गुरुयोजना निर्माणको काम भइरहेको छ, त्यसपछि सञ्चालन गर्न सकिन्छ ।” सङ्ग्रहालय थारू समुदायसँग मात्र नभई जिल्लाको पहिचान र पर्यटन प्रवद्र्धनसँग जोडिएकाले यसको बृहत् विकासका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने थारू समुदायका अगुवाहरू बताउँछन् । 

करिब २५ लाख रुपियाँ लागतमा निर्माण गरिएको सङ्ग्रहालयमा थारु समुदायको परम्परागत सामग्रीहरू माटाका भाडाँकुडा, वेशभूषा, गरगहना, भौका–भौकी, हलो, वर्षातमा ओढ्ने छत्री, धान राख्ने माटोका भाँडा ‘डेहरी’ र काठलगायतका सामग्रीहरू राखिएका छन् ।त्यसैगरी सुत्ने खटिया, खटौली, ढक्या गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौका, पूजापाठमा प्रयोग हुने देवीदेवताका मूर्तिहरू सङ्ग्रहालयमा सजाइएका छन् ।