• १५ चैत २०८१, शुक्रबार

कावासोतीको फोहोर व्यवस्थापन गर्न माग

blog

फोहोर व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइँदै ।

बोमलाल गिरी

नवलपुर, चैत ८ गते । नवलपुर सदरमुकाम कावासोतीमा एक महिनादेखि फोहोर नउठेपछि तत्काल त्यसको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोती नगर समितिले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

रास्वपा नगर सभापति मोहन बस्नेतको नेतृत्वमा गएको टोलीले कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापनपत्र बुझाउँदै फोहोर व्यवस्थापनमा गम्भीर बन्न आग्रह गर्नुभएको हो । फोहोर संकलनको नाममा शुल्क उठाउने काम भइरहेको तर फोहोर उठाउने काम भने नभएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसैगरी तत्काल फोहोर संकलन कार्यलाई उचित ढंगले व्यवस्थापन नगरे कावासोतीमा सरुवा रोगको संक्रमण बढ्न सक्ने भएकाले यसलाई गम्भीर भएर व्यवस्थापन गर्न राप्रपाले नगरपालिकालाई आग्रह गरेको छ । एक महिनादेखि फोहोर नउठ्दा सदरमुकाम कावासोती दुर्गन्धित बन्दैगएको छ । थुप्रिएको फोहोर बर्गिकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको छ।

कावासोती ३ को केरुङ्गे खोला पारी अंकुर सामुदायिक वनमा विगत ५ बर्षदेखि फोहोर विर्सजन हुँदैआएको थियो । तर उचित ढंगले व्यवस्थापन नगर्दा प्रदुषण बढेको भन्दै विरोध भएपछि फोहोर उठ्न सकेको थिएन।

नगरपालिका र सामुदायिक वनबिच फागुन १२ गते ११ बुँदे सहमति भई फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरेपछि मात्र उठाउन सहमति भएको थियो । तर पनि फोहोर वर्गीकरणको काम नसकिएकोले फोहोर उठ्न नसकेको हो ।अंकुर सामुदायिक वनले भने भने फोहोर वर्गीकरणको काम चलिरहेको र वर्गीकरणको काम सक्न अझै २ हप्ता लाग्ने बताएको छ ।