• १५ चैत २०८१, शुक्रबार

एसइई पास गर्ने आमाहरूको रहर

blog

परीक्षा दिन बेनीको प्रकाश मावि परीक्षा केन्द्रमा पुग्नुभएका आमाहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

म्याग्दी (बेनी), चैत ८ गते । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५१ वर्षीय शर्मिला पुन सहभागी हुनुहुन्छ । उहाँले नातिनातिना सरहकासँगै बसेर परीक्षा दिनुभएको छ । शर्मिला बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट परीक्षामा सहभागी हुनुभएको हो । उहाँसहित यसपालि विद्यालयबाट नियमिततर्फ तीन जना र ग्रेड वृद्धिमा दुई जना गरी पाँच जना आमाले परीक्षामा सहभागिता जनाउनुभएको विद्यालयले जनाएको छ । 

“सानै उमेरमा विवाह भएपछि पढ्न पाइएन, अहिले आएर पढाइको महत्व बुझेर कक्षा ७ देखि भर्ना भएर अध्ययन थालेर अहिले एसइईसम्म आइपुगेकी छु,” बेनीको प्रकाश मावि परीक्षा केन्द्रमा भेटिएकी शर्मिलाले भन्नुभयो, “पढ्दापढ्दै सानै उमेरमा विवाह भयो । त्यसबेला पढ्ने वातावरण भएन । अहिले छोराछोरीलाई पढाउँदै आफूले पनि पढ्न थालेकी छु । परीक्षा भनेपछि अलि अलि डर पनि लागेको छ, हेरौँ कस्तो हुन्छ ।” राम्रो अङ्क ल्याएर एसइई पास भए कक्षा ११ मा पनि भर्ना भएर पढ्ने रहर भएको उहाँले बताउनुभयो ।  

यसै गरी शर्मिलासहित उज्यालो विद्यालयबाट ४५ वर्षीय ज्ञानदेवी भट्टचन, ३१ वर्षीय राधिका विश्वकर्मा नियमितबाट परीक्षामा सहभागी हुनुभएको उज्यालो विद्यालयका संयोजक विन्दु कार्कीले बताउनुभयो । उहाँका अनुसार रसिला परियार र लीला पुनमगरले ग्रेड वृद्धिका लागि परीक्षा दिँदै हुनुहुन्छ । “त्यसबेला कक्षा ८ मा पढ्दै थिएँ, विवाह भयो र बिचमै पढाइ छाड्नुप¥यो । उज्यालो विद्यालयमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी हुँ । 

गत वर्ष एसइईमा सहभागी भए राम्रो अङ्क ल्याउन सकिनँ । यसपालि ग्रेडवृद्धिका लागि परीक्षामा सहभागी भएकी छु,” रसिलाले भन्नुभयो, “गत वर्ष त्यति राम्रो भएन । चार विषयमा राम्रो अङ्क ल्याउन सफल भएँ । तीन विषयमा राम्रो अङ्क ल्याउन सकिनँ । यसपालि अलि राम्रोसँग तयारी पनि गरेकी छु, पक्कै पनि राम्रो अङ्क ल्याउने आशा छ ।”

आमाहरूले एसइई राम्रोसँग तयारी गरेकाले यस वर्ष राम्रो अङ्क ल्याएर पास गर्ने विद्यालय संयोजक कार्कीले विश्वास व्यक्त गर्नुभयो । बेनी सामुदायिक माध्यमिक विद्यालय अन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाको छ कोठामा सञ्चालन गरिएको छ । बिचमै पढाइ छाडेका आमाहरूका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ । 

विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बिचैमा पढाइ छाड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ सालदेखि समुदायको सव्रिmयतामा उक्त विद्यालय खुलेको हो । विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका सदस्य सन्दीप खत्रीले बताउनुभयो । हाल ४५ जना आमाहरू विद्यालयमा भर्ना भएर नियमित रूपमा अध्ययन गरिरहनुभएको समितिका सदस्य खत्रीले जानकारी दिनुभयो ।