नवराज श्रेष्ठ
रामेछाप, चैत ५ गते । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा एक सदस्य पद बाहेक सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् ।
मङ्गलवार राति सकिएको मत परिणामअनुसार सभापतिमा अनेरास्ववियुका सुशील थापा २०७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेविसंघका विपुल रोका १५२ र अखिल (क्रान्तिकारी) का उम्मेदवार अनोज भुजेलले जम्मा ६५ मत प्राप्त गर्दे पराजित हुनुभयो ।
सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी (डेनिस) १८५ मत प्राप्त गरी विजयी हुँदा नेविसंघका युवराज बुढाथोकीले १६५ र अखिल (क्रान्तिकारी) का सचिव पदका उम्मेदवार विनीता माझी ७० मत प्राप्त गर्दै पराजित हुनुभयो ।
कोषाध्यक्षमा अनेरास्ववियुकी मशली तामाङ २०७ मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघकी छाया तामाङले १३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठ जम्मा ७९ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
सदस्यहरूमा अनेरास्ववियका ४ जना उम्मेदवार तुलसा उप्रेती १९१, यलिना माझी १७१, जीवन पहरी २०७ र मनोज श्रेष्ठ २३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । एउटा सदस्य पदमा नेविसंघबाट कर्ण श्रेष्ठ १७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
अब उपाध्यक्ष र सह–सचिवसहित ७ पद समानुपातिक तर्फबाट समितिमा जाने व्यवस्था रहेको छ । स्ववियु निर्वाचन भएको रामेछाप जिल्लाकै एक मात्र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ५३१ मतदाता रहेकोमा जम्मा ४२७ मत खसेको थियो ।