जीवछ यादव
लहान, चैत ५ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिरहा र सप्तरी जिल्लाको चार सय हेक्टर जमिनमा चैते धान उत्पादनको लागि अनुदानमा दिएको चैते धानको बिउँ नउम्रिएपछि सुरुङगा नगरपालिका –७ का किसानहरू चिन्तित भएका छन् ।
२५ वर्षदेखि चैते धान उत्पादन गरेर प्रति कठा ६ हजारको दरले धान उत्पादन गर्दै आइरहेको सुरुङगा नगरपालिका –७ चकदहका एक दर्जनभन्दा बढी किसानहरू राधा कृष्ण सहकारी र राम जानकी कृषि सहकारीबाट अनुदानमा पाएका चैते धानको बिउँ पटक्कै नउम्रिएपछि ठुलो मारमा परेको भन्दै क्षतिपूर्तिको माग गरेका छन् ।
राम जानकी सहकारले अनुदानको एक क्विन्टल बिस किलोग्राम र राधा कृष्ण सहकारीबाट दुई क्विन्टल लगेको बिउँ नउम्रिएपछि सात विगाहा खेतमा गर्ने चैते धान उत्पादन हुन नसकेको स्थानीय किसानहरू विजय परसैला, शिवराम शर्मा,बाबुनन्द चौधरी रम्भा चौधरीले यस पटक अनुदानको राजविराज स्थित सोनाई बीज भण्डारबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सिरहा प्राविधिक जोन सप्तरी सुरुङगा कदमाहाका प्राविधिक चन्दन सुनरैतको सिफारिसमा खरिद गरिएको बीउ नउम्रिएपछि चकदहका कृषक साने यादवले गुनासो पोख्दै क्षतिपूर्तिको माग गर्नुभयो । उहाँले भन्नुभयो,‘म लगायत एक दर्जन किसानको बीउ नउम्रिएपछि बिउँको पुनः परीक्षण कार्यालयका प्राविधिकहरूले गर्दा पनि उम्रेन । यस्तो कमसल बीउ कार्यालय र सोनाइ बीउ वितरण केन्द्रबिच भएको मिलेमतोमा वितरण गरिएको हो ।’
यता धान जोन प्राविधिक इकाई कदमाहाका प्राविधिक चन्दन सुनरैतसँग किन बीउ नउम्रिएको जिज्ञासा राख्दा उहाँले भन्नुभयो,‘सिरहा सप्तरीको अरू ठाउँमा यही बीउ उम्रियो तर सुरुङगा सप्तरीमा नउम्रिएको बीउको महोत्तरी जलेश्वरको ल्याबमा परीक्षण गर्दा ८३ प्रतिशत बीउ अङ्कुरण भएकाे छ । यसबारे थप अनुसन्धानमा गरेर निष्कर्षमा पुग्नेछु ।’
सिरहा र सप्तरीमा चार सय हेक्टरमा चैते धान उत्पादनको लागि किसानलाई बीउ, सिँचाइ र प्राविधिक सहयोग अनुदानको लागि चौतिस लाख रकम आएको प्राविधिक सुनरैतचले जानकारी दिँदै यस वर्ष तीन हजार ६५४ हेक्टरमा चैते धानको लागि सोनाई बिउँ भण्डार राजविराजले सात टन बीउ उपलब्ध गराइएको छ ।
सोनाई बीउ भण्डार राजविराजका सञ्चालक सोनाई दासका अनुसार सात तन बीउ वितरण भएकोमा सप्तरी सुरुङगा नगरपालिका –७ चकदह बाहेक सबै ठाउँमा बीउ उम्रिएको र नउम्रिएको बीउको प्रयोगशालामा परीक्षण गर्दा ८३ प्रतिशत बीउ उम्रिएकोले बीउमा कुनै समस्या नरहेको दाबी गर्नुभयो ।