• ५ चैत २०८१, मङ्गलबार

गुइँठाले धानेको चुल्हो

blog

गोवरको गुइँठाको दाउरा बनाउँदै दुई महिला । तस्बिर : सीता काफ्ले

सीता काफ्ले 

तिनाउ (रुपन्देही)  चैत ५ गते । रुपन्देहीको ग्रामीण क्षेत्रका अधिकांश स्थानमा खाना पकाउनका लागि गोबरको गुइँठा प्रयोग गर्ने गरिएको छ । जिल्लाका सबैजसो पालिकाका ग्रामीण क्षेत्रका कतिपय नागरिकले अहिले पनि खाना पकाउने इन्धनको रूपमा गोवरको गुइँठाको प्रयोग गर्ने गरेका छन् । 

ग्यासको मूल्य महँगो हुनु तथा दाउराको अभाव भएका कारण खाना पकाउनका लागि गुइँठाको प्रयोग गर्ने गरिएको सियारी ५ की सुनिता यादव बताउनुहुन्छ । 

तराईका अधिकांश क्षेत्रमा बन जङ्गल नहुने तथा भएका ठाउँमा पनि सहज रूपमा दाउरा पाइँदैन, त्यसैले खाना पकाउनका लागि गुइँठा बनाउने गर्दछौ, यादव भन्नुहुन्छ ‘ग्यास एका तर्फ महँगो छ भने अर्को तर्फ ग्यासमा पकाएको खाना आगोमा पकाएको जस्तो मिठो पनि हुदैन् । 

ग्यास किन्ने आर्थिक हैसियत नहुनेहरूका लागि गुइँठा नै सबैभन्दा उत्तम विकल्प हो’, उहाँले भन्नुभयो । 

यादवले आफ्नो आर्थिक अवस्था पनि कमजोर रहेको बताउनु भयो । घरको आर्थिक अवस्था पनि कमजोर छ, साहुकोमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएकी छु, उहाँले भन्नुभयो ‘गोवरको गुइँठा पनि अधियामा बनाउँदै छु, तयार भएपछि आधा साहुलाई दिन्छु आधा मैले लग्छु । 

बर्षायाम पछि गोवरको दाउरा बनाउन सुरु गर्ने उनीहरूले फागु पूर्णिमा पछि बाल्न सुरु गर्ने बताएका छन् । तराईमा दाउरा उपलब्ध नहुने ठाउँमा दाउराको विकल्पको रूपमा गुइँठाको प्रयोग गर्ने गरिएको उहाँको भनाई छ । 

गाई भैँसी पाल्ने अधिकांशले गोबर जम्मा पारेर पराल र भुसको मिश्रण गरी विभिन्न आकारमा गुइँठा बनाउने गर्दछन् । घरको गोठको भित्तामा समथर जमिनमा गुइँठाको टाड बनाएर राख्ने गर्दछन् । उनीहरूले साना, ठुला, गोला, चेप्टा, चिर्पट दाउराको जस्ता आकार दिएर गुइँठा बनाउने गर्दछन् । जुन सुकिसकेपछि बाल्नका लागि तयार गरिन्छ । 

बर्षायाम सकिएपछि गुइँठा बनाउन सुरु गरी फागुन पूर्णिमा अगाडि सम्म बनाउने सियारी ५ कै  फुलमति यादव बताउनु हुन्छ । उनीहरूले परापुर्वक कालदेखि चल्दै आएको र प्रयोग गर्दै आएकाले आफूहरूले पनि गुइँठाको प्रयोग गर्दै आएको बताउँछन् । गुइँठाले स्वास्थ्यमा असर गर्नेबारे सचेत भए पनि गुइँठामा पकाएको खाना स्वादिलो हुने भन्दै गुइँठामै पकाउने गरेको स्थानीय जानकारहरू बताउँछन् । 

गुइँठाको प्रयोग गर्दा स्वास्थ्यमा भने गम्भिर असर पुग्ने चिकित्सकहरूले बताएका छन् । लुम्बिनी नेत्रालय भैरहवाका प्रमुख अस्पताल निर्देशक डा. सन्तोष सुवेदीले गुइँठाको धुवाँले आँखामा गइभिर असर गर्ने बताउनु भयो । उहाँले लामो समय धुवाँमा बसेर खाना पकाउँदा आँखामा क्यान्सर हुने जोखिम बढेर जाने बताउनु भयो । उहाँका अनुसार आँखाका साथसाथै फोक्सोमा गइभिर असर पुग्ने हुँदा गुइँठाको प्रयोगलाई निरुत्साहित गर्न जरुरी छ ।