• ४ चैत २०८१, सोमबार

फोटो प्रदर्शनीमा महिला योगदानको चर्चा

blog

नेपालगञ्जमा जारी फोटो प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण । तस्बिरः लक्ष्मी तिमिल्सेना

लक्ष्मी तिमिल्सेना

नेपालगन्ज, चैत ४ गते । फोटो सर्कलले फोटो प्रदर्शनी सुरु गरेको छ । नेपालको इतिहासमा महिलाहरुले दिएको योगदानको चर्चा समेटिएको प्रदर्शनी हेर्न अहिले सर्वसाधारणको चासो बढेको छ ।

डिजिटल रुपमा अभिलेख संकलनको काम गरिरहेको फोटो सर्कलले नेपालगन्जको रामलिला मैदानमा सोमबारबाट प्रदर्शनी सुरु गरेको हो । समाज, शिक्षा, राजनीति लगायतका विविध क्षेत्रहरुमा महिलाले दिएका योगदानबारे अनुसन्धान गरेर त्यसबाट प्राप्त जानकारीलाई आम मानिससम्म पुगाउने उद्देश्यले गरिएको सो प्रदर्शनी ६ गतेसम्म चल्नेछ ।  

यहाँ नेपालका केही ठाँउहरुमा ती महिलाको योगदान समेटिएका तस्बिरहरुको फोटो प्रदर्शनी भइरहेको छ । प्रदर्शनीबारे कुराकानी गर्दै फोटो प्रदर्शनी कार्यक्रमका संयोजक सरिता सिंहले मुलतः महिलाको कामलाई झल्काउने पुराना फोटोहरुको कलेक्सन भएको जानकारी दिनुभयो । 

इतिहासलाई फर्केर हेर्दा महिलाले राजतीनि, समाज, शिक्षा, साहित्य तथा यात्राका क्रममा गरेका अनुभव तथा देशमा मात्र नभइ विदेशमा समेत महिलाले गरेको योगदानलाई फोटोमार्फत देखाउन खोजिएको फोटो प्रदर्शनी कार्यक्रमका संयोजक सिंहले बताउनुभयो ।

फोटोसँगै म्यागजिन, डायरी, किताबका पाना तथा विभिन्न प्याम्पलेटहरुको समेत प्रदर्शनी गरिएको छ । जसमार्फत इतिहासमा महिलाद्वारा कस्ता–कस्ता कामहरु गरिएका थिए भन्ने विषय देखाउन खोजिएको आयोजकले जनाएको छ ।

प्रदशर्नी अवलोकनका लागि आउनुभएका बरिस्ठ कथाकार सनत रेग्मीले इतिहासको दस्तावेजिकरणमा पछिल्लो पुस्ताको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालगन्ज आफैमा पनि ऐतिहासिक शहर भएकाले यहाँको विकास र परिवर्तनका लागि विभिन्न कालखण्डमा थुप्रै महिलाले योगदान गरे पनि उनीहरुको योगदानको उचित कदर हुन नसकेको गुनासो गर्नभयो । 

यस प्रदर्शनीले महिलाको योगदानको दस्तावेजिकरण र उनीहरुको सम्मान बढेको खजुरा गाउँपालिकाका संस्थापक उपाध्यक्ष एकमाया विकले बताउनुभयो । उहाँले खजुराका सहिद सेतु विकलाई सम्झदै आजको नेपाल बनाउन इतिहासमा धेरै महिलाहरुको योगदान भएको बताउनुभयो । 

कार्यक्रमले सामाजिक राजनीतिक, आर्थिक तथा सांस्कृतिक आन्दोलनमा महिलाहरुले गरेको योगदानको चर्चा तथा त्यसको दस्तावेजिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।