साधन घर्ती
म्याग्दी (दरबाङ), चैत ४ गते । हावाहुरीले म्याग्दीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको धवलागिरि गाउँपालिका –७, ताकममा आइतबार हावाहुरीले हाँगा भाँचिएर खनिउ रुखबाट लडेर ६० वर्षीय थमन खत्रीको मृत्यु भएको हो ।
ताकमको हुकलुङमा बाख्रा चराउन जानुभएका खत्रीको खनिउको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
बाख्रा घर फर्किए पनि सँगै जानुभएका खत्री नफर्किएपछि खोज्ने क्रममा स्थानीयवासीले साँझ उहाँलाई मृत भेटाएका थिए । रुखमा चढेर घाँस काट्ने क्रममा हावाहुरीले हाँगा भाँचिएर रुखबाट खसेको वडाध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो।
घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । शवलालाई पोस्टमार्टमका लागि बेनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
शनिबारदेखि आइतबार साँझसम्म करिब २४ घण्टासम्म जिल्लाभर निरन्तर रूपमा तिब्र गतिको हावाहुरीले चलेको थियो । हावाहुरीका कारण विद्यालय र स्वास्थ्य संस्थाहरूको भवनमा क्षति पुर्याएकाे छ । धवलागिरि गाउँपालिका–२,लमसुङमा रहेको लुलाङ स्वास्थ्य चौकी र वडा नं–६, बुलस्थित बागेश्वरी आधारभूत विद्यालयको भवनको छानो उडाएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो ।
बागेश्वरी आधारभूतको छ कोठे र स्वास्थ्य चौकीको कर्मचारी आवासको दुई तले भवनको जस्तापाटाले छाएको छानो उडाएको हो । मुनास्थित गाउँपालिकाको प्रशासकीय भवनको छानोमा पनि हावाहुरीले क्षति पुर्याएकाे उपाध्यक्ष पुनले बताउनुभयो ।
रघुगङ्गा गाउँपालिका–८, दुवाडीमा रहेको सुन्दरा आधारभूत विद्यालयको पाँच कोठे भवनको छानो पनि हावाहुरीले उडाएको छ । विद्यालयको पठनपाठन र स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित भएको छ ।
त्यस्तै गहुँ, जौ र उवा बालीको बोट लडाएर हावाहुरीले क्षति पुर्याएकाे छ । धवलागिरी गाउँपालिका–७,का वडा अध्यक्ष अशोक खत्रीका अनुसार, ताकममा नेत्रलाल सुवेदी, सन्तु महतको घरको छानो उडाएको र हिलापोखरीमा गोरखनाथ पौडेल, लोकनाथ पौडेलको घरमा क्षति पुगेको छ । जनप्रतिनिधी र स्थानीयबासी मार्फत क्षतीको विवरण सङ्कलनको काम भई रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यसैगरी बेनी नगरपालिका–४, सिंगाको ब्याडमिन्टन कोर्टमा लगाइएको जस्तापाटाको बारलाई पनि हावाहुरीले लडाएको छ ।