घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), चैत ४ गते । जैविक विविधताले महत्वपूर्ण पर्यटकीय क्षेत्र घोडाघोडीको पर्यटन प्रवर्धनका लागि विदेशी पर्यटकको समूह रेन्बो फ्यामिलीसँग सांस्कृतिक आदानप्रदान कार्यक्रम गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका र रेन्बो फ्यामिलीको संयुक्त आयोजनामा घोडाघोडी तालनजिकै सम्पन्न कार्यक्रममा नगरप्रमुख खडकबहादुर रावतको उपस्थिति रहेको थियो । बाजुरेली समाजको भुवा नाच, बैतडी समाजको होली, थारू समुदायको झुम्रा नाच, मगर समुदायको झ्याउरे नाचमा रेन्बो फ्यामिलीका सदस्यहरू रमाएका थिए ।
नेपाली सांस्कृतिक कार्यक्रममा रमाएसँगै उनीहरूले आफ्नो वाद्यवादनसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रममा सबै धर्म, समुदायलाई सम्मान दिँदै शान्तिको भाव थियो । पर्यटन व्यवसायी डबल शाहले नेपालमा रेम्बो फ्यामिलीलाई सन् २०२५ मा घोडाघोडी ल्याउन पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहकै मध्यस्थतामा सांस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजनासमेत गरिएको जनाइएको छ । उहाँले रेम्बो फ्यामिली एक गैरसङ्गठित अन्तर्राष्ट्रिय समुदाय रहेको र उनीहरू प्राकृतिक जीवनशैली, शान्ति, प्रेम, आध्यात्मिकता र स्वतन्त्रतामा रमाउने जानकारी दिनुभयो । चैत २८ गतेसम्म घोडाघोडीमा बस्ने यो समूहले घोडाघोडीको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउनुका साथै आआफ्नो देशमा घोडाघोडीको प्रचारप्रसार गर्ने अपेक्षा लिएको नगरप्रमुख रावतले बताउनुभयो ।