• ३ चैत २०८१, आइतबार

एसइईमा घटे नियमित विद्यार्थी

blog

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण समन्वय समितिको बैठक । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, चैत ३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षा दिने विद्यार्थी घटेका छन् । तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष ५७० जना नियमित विद्यार्थी घटेका छन् । २०८० सालमा चार हजार ८७७ जना नियमित परीक्षार्थी रहेकोमा यस वर्ष घटेर चार हजार ३०७ जना नियमित परीक्षामा सहभागी हुँदै छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार जिल्लाका २७ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार ३०७ जना र एक हजार ५५ जना ग्रेड वृद्धि गरेर पाँच हजार ३५८ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । 

यही चैत ७ देखि १९ गतेसम्म एसइई सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बैतडीका परीक्षा फाँटका रामचन्द्र भट्टले बताउनुभयो । उहाँले हरेक वर्ष नियमित परीक्षा दिने विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको बताउनुभयो । नियमिततर्फ विद्यार्थी सङ्ख्या घटे पनि अनुत्तीर्ण दर भने बढेको छ । 

तथ्याङ्क अनुसार २०७८ सालमा नियमित परीक्षा दिने विद्यार्थी पाँच हजार ३६१ जना थिए । त्यसै गरी २०७९ सालमा पाँच हजार १८४ जना, २०८० सालमा चार हजार ८७७ जना र २०८१ सालमा चार हजार ३०७ जना नियमित परीक्षार्थी रहेका छन् । गत वर्ष अनुत्तीर्ण भएका एक हजार ५५ जना विद्यार्थीले २०८१ मा पुनः परीक्षा दिँदै छन् । बसाइँसराइ र बेरोजगारी जस्ता कारणले नियमित परीक्षा दिने विद्यार्थी घट्दै गएको पाइएको छ ।

परीक्षा केन्द्रमा प्रश्नपत्र र कापी पुगे   

माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको छ । जिल्लाका २७ वटा परीक्षा केन्द्रमा नियुक्त भएका केन्द्राध्यक्षलाई शुक्रबार एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । 

परीक्षालाई मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा गरेर केन्द्राध्यक्षलाई प्रश्नपत्र र कापी हस्तान्तरण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण समन्वय समितिको बैठक बसेर सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र र कापी पठाइएको बताउनुभयो ।