• ३ चैत २०८१, आइतबार

परराष्ट्रमन्त्री डा. राणाले ‘राइसिना डायलग’ कार्यक्रमलाई सम्बोधन गर्ने

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौं, चैत २ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि १९ सम्म आयोजना हुने ‘राइसिना डायलग’ कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ । 

मन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकले सामाजिक सञ्जालमा कसले के लेखेको भन्ने भन्दा पनि मन्त्रीजीको सहभागिता र उहाँको सम्बोधनका बारेमा मन्त्रालय र नेपाली राजदूताबास नयाँ दिल्लीले सार्वजनिक गराइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मन्त्रीजीले राइसिना डायलगमा सम्बोधन गर्ने कार्यक्रम पहिले नै तय भएको हो र सोही अनुसार उहाँ सहभागी हुनुहुनेछ । साथै यसै कार्यक्रमका दौरानमा भारतीय विदेशमन्त्री डा एस जयशंकर र अन्य मित्रराष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ताको कार्यक्रम पनि तय भएको छ ।’’

सल्लाहकार पाठकले उक्त कार्यक्रमको आयोजक ओरआएफले कार्यक्रममा सहभागीहरुमध्ये मन्त्रीहरुको तस्बिर र नाम राखिरहेको र आज परराष्ट्रमन्त्री डा राणाको पनि राखिसकेको जानकारी दिनुभयो । 


आयोजक ओरआएफले राखेको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको तस्बिर । 

उता बिहीबार नै नयाँ दिल्लीस्थित नेपाली दूताबासले सार्वजनिक गरेको कार्यतालिकामा मन्त्री डा राणाले जलवायु परिवर्तनको अवस्था र समस्या तथा वर्तमान अवस्थामा दक्षिण एसिया के चाहन्छ शीर्षकका अलग अलग सेसनमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको थियो । 

विमानस्थलमा मन्त्री डा राणालाई रिसिभ गर्न भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव जानुभएकाले यो भ्रमण तथा कार्यक्रमलाई भारतको विदेश मन्त्रालयले महत्व दिएको रुपमा पनि लिन सकिने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । साथै विदेशमन्त्री डा जयशंकरसँग मन्त्री डा राणाको द्विपक्षीय भेटवार्ता तय भएबाट पनि यसलाई महत्वपूर्ण रुपमा लिनुपर्ने उहाँको भनाइ छ । 

यस कार्यक्रममा विश्वका ३० भन्दा बढी देशका प्रधानमन्त्री, विदेशमन्त्री तथा नेताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको उदघाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गर्ने कार्यक्रम रहेको छ । नेपालका तर्फबाट पनि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहभागी हुनुहुनेछ । सन् २०१६ देखि भारतले यो कार्यक्रममा नेपाललाई पनि आमन्त्रण गर्न थालेपछि परराष्ट्रमन्त्रीस्तरको सहभागिता रहँदै आएको छ ।  

सो कार्यक्रममा सहभागिताका लागि भारतको विदेश मन्त्रालयको आमन्त्रणमा परराष्ट्रमन्त्री डा राणा बिहीबार अपराह्न नयाँ दिल्ली पुग्नुभएको छ । यसै हप्ता आफ्नो निजी तथा धार्मिक भ्रमणका क्रममा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजापछि उहाँ हिजो दिल्ली पुग्नुभएको छ ।  

मन्त्री डा राणालाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार स्वागत गर्नुभएको थियो । विदेश मन्त्रालयको निमन्त्रणामा भारत पुग्नुभएको उहाँलाई विदेश मन्त्रालयका अतिरिक्त सचिव नै विमानस्थलमा स्वागतका लागि पुग्नुभएको थियो ।     

मन्त्री डा राणाले राइसिना डायलगमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो कार्यक्रमका विभिन्न सेसनमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । साथै यसै कार्यक्रमका दौरानमा उहाँले आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । 

साथै कतिपय अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग समेत द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूताबासले बिहीबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । तर पनि केहीले सामाजिक सञ्जाल तथा मिडियामा परराष्ट्र मन्त्रीलाई सो कार्यक्रममा सहभागिताबारेमा कुनै आधिकारिक रुपमा जानकारी नगराएको तथा वेभसाइटमा सहभागीको तस्बिार नराखिएको भनेर टिप्पणी गरिएको प्रति उहाँको सचिवालयले खण्डन गरेको छ ।