• २९ फागुन २०८१, बिहिबार

‘ढुरहेरी’ को चीर दहन गर्दै थारू समुदाय

blog

दङ्गीशरण–३ हेकुली गाउँका थारू समुदायले ढुरहेरीको चीर दहन गर्दै । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, फागुन २९ गते । आज पहाडी क्षेत्रमा देशभर होली मनाइरहेका बेला तराईका थारू समुदायले चीर दहन गर्दैछन् । प्रकृति र भूमिसँग रमाउने भएकाले थारू समुदायको  प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको अगुवाहरूको भनाइ छ । 

थारू समुदायको ‘ढुरहेरी’ पनि एक महत्त्वपूर्ण चाडपर्व मानिन्छ । अरू पर्वजस्तै यो पर्वलाई पनि थारू समुदायले धुमधामसँग मनाउँदै आएका छन् । थारू समुदायको  ‘ढुरहेरी’ पर्व वैदिक एवम पौराणिक परम्परासँग जोदिएको थारू अगुवा रामप्रसाद चौधरीले बताउनुभयो ।

 ‘ढुरहेरी’ पर्वलाई अर्को  शब्दमा  ‘फगुवा’ भन्ने गरेको उहाँले बताउनुभयो । फागुन महिनामा पर्ने भएकाले ढुरहेरीलाई फगुवा पर्व भन्ने गरिएको हो, उहाँले भन्नुभयो, “फगुवामा थारू समुदायले अबिर खेल्ने, रङ छर्नेमा सीमित छैन, यसमा आफ्नै छुट्टै मौलिक लोकसंस्कृति र संस्कारसँग जोदिएको छ।’

उहाँको अनुसार थारू समुदाय ढुरहेरीको दिन गाउँका भुह्यारथानमा भव्य रूपमा पूजापाठ गर्ने गर्दछन् । ढुरहेरी पर्वको अगाडिको दिन बिहानै गाउँभरिका गरढुर्या (घरको मूली) हरू मटाँवाको घरमा जम्मा हुने गर्दछन् । ‘सबै गरढुर्याहरु जुटेपछि जिम्मेवारी बाँडफाँट गरेर मटावाको निर्देशनअनुसार गाउँका गरढुर्याहरू आफनो काममा लाग्नुहुन्छ । उहाँले भन्नुभयो, ‘पूजापाठका लागि गाउँमा रकम सङ्कलन, भुह्यारथानमा बलि दिन चल्ला सङ्कलन तथा अन्य तयारीमा जुत्नुहुन्छ ।’

पूजापाठको तयारी भइसकेपछि गरढुर्याहरू नुहाइधुवाई गरी  ‘गन्यारी’ भन्ने काठबाट आगो निकाल्ने गर्नुहुन्छ, उहाँले भन्नुभयो, त्यहि  ‘गन्यारी’बाट निकालिएको नयाँ आगो (लौव आगी) ले पूजापाठका लागि  ‘झझ्रा’ पकाइसकेपछि भुह्यारथानमा पूजापाठ गर्छौ, त्यसपछि गाउँको खुला बारी भएको ठाउँमा सिमलको रुखको हाँगा काटेर बारीमा गाडेर पूजापाठ गर्छौ ।’

‘त्यही सिमलको हाँगामा चारैतिर दाउरा, गुइठा राखिन्छ, जुन गन्यारीबाट निकालिएको आगोले त्यही दाउरा र गुइँठामा सल्काइन्छ, उहाँले भन्नुभयो, “त्यहाँ गुर्वाले पूजापाठ गरिसकेपछि गाउँभरीका मानिसहरू प्रत्येक घरबाट एक–एक जना गरढुर्या अर्थात् घरमुलीहरू बाल्टिन या कुनै एउटा भाँडामा  ‘गुइठा’ लिएर नयाँ आगो लिन आउनुहुन्छ, त्यही आगोले घरको देउथानमा बत्ति बाल्ने र वर्ष दिनसम्म त्यही आगोले खाना पकाउने परम्परा छ ।’


बर्षदिन राखिने आगो

थारू समुदायमा भान्सा कोठामा चुलोको छेउमा वर्षभरि आगो राख्ने चलन छ । जुन आगो राख्ने ठाउँलाई थारू भाषमा  ‘कर्सी’ भनिन्छ । यो ‘कर्सी’ चुलोको अगाडिको भागमा सानो खाल्डो खनेर राखिन्छ । त्यही खाल्डोमा सधैभरि आगो राखेको हुन्छ । त्यही आगो आउने ढुरहेरीको बिहान फालिन्छ । नयाँ आगो राख्नको लागि त्यहाँ लिप पोट गरिन्छ । त्यही ठाउँमा नयाँ आगो राखिन्छ । यो आगो अर्को वर्षको ‘ढुरहेरी’ होली नआउँदासम्म राख्ने चलन रहेको उहाँले बताउनुभयो ।

मनमा शान्ति

यसरी नयाँ आगोबाट आफना्े देवीदेवता रहेको कोठामा माटोको भाँडामा बत्ती बालेपछि मनमा शान्ति, समृद्धि कायम हुने थारू समुदायमा जनविश्वास रहँदै आएको छ । ढुरहेरीको दिन नयाँँ आगो नलग्दासम्म घरमा खानपिन पनि पाक्दैन । सवैलै  ‘लौव आगी’ नयाँ आगोले खाना पकाएपछि मिठो हुने, बिरामी नपर्ने, मनमा शान्ति कायम हुने थारू समुदायमा विश्वास छ।