माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन २९ गते । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकहरु होली पर्वमा रङसँगै रमाएका छन् । पर्यटकको केन्द्र लेकसाइडमा विभिन्न देशका पर्यटक एकले अर्कोलाई रङ लगाएर रमाएका हुन् ।
होली नेपाली परम्पराको रङको पर्व हो । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँगै विदेशी पर्यटकले होली खेलेका छन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेबान पोखराले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको कार्यक्रममा विदेशी पर्यटकको राम्रो सहभागिता थियो । पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म भएको कार्यक्रममा पञ्चेबाजासहित पर्यटन व्यावसायी, आन्तरिक तथा वाह्य पर्यटक विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।
रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले करिब दुईसय विदेशी पर्यटक र् यालीमा सहभागी भएको बताउनुभयो । हरेक वर्ष फागु पूर्णिमाको अवसरमा रेबानले विदेशी पर्यटकलक्षित कार्यक्रम गर्दैआएको छ । पौडेलले हाम्रो देशको संस्कृतिबारे पर्यटकलाई जानकारी दिन कार्यक्रम गरिएको बताउनुभयो ।