• १ चैत २०८१, शुक्रबार

गाउँ छाड्न मान्दैनन् वृद्धवृद्धा

blog

घरको वरपर सफा गर्दै यमबहादुर गुरुङ । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, फागुन २९ गते । उमेरले ८४ वर्ष पुग्नै लाग्नुभएका गुल्मी कालीगण्डकी–७, भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई सहरमा बस्न नपुगेर होइन, उहाँका चार जना छोरामध्ये एक जना भारत र अन्य तीन जना बुटवललगायतका सहरमा बस्नुहुन्छ । 

तर उहाँलाई सहरभन्दा गाउँ नै प्यारो लाग्छ । छोराले सहरमा आउन भने पनि आफूलाई गाउँ नै प्यारो लाग्ने गरेको उहाँले बताउनुभयो । गाउँकै ताजा तरकारी, दूध, दही सहरमा नपाइने र आफूले गर्न सकुन्जेल गाउँमै रमाउने उहाँको भनाइ छ । 

यस्तै  सोही स्थानकी ४५ वर्षीय जमुना गुरुङले पनि सहरभन्दा गाउँकै हावापानी स्वच्छ भएकाले गाउँ नै प्यारो लाग्ने गरेको बताउनुभयो । अहिले जताततै सडकको सुविधा भएकाले बिहान बुटवल गएर साँझ गाउँ नै फर्किन सक्ने भएकाले गाउँमा समस्या नभएको उहाँको भनाइ छ ।

स्थानीय युवा ३५ वर्षीय आशिष गुरुङले गाउँमै व्यावसायिक रूपमा कृषि र पशुपालन गर्दा आफैँले उत्पादन गरेको ताजा खाना पनि हुने र सहरमा भन्दा गाउँमै बस्न उत्तम हुने उहाँको तर्क छ । गाउँमै युवा र महिलालाई जोडेर सामूहिक चिया खेती र किवी खेती गरेकाले उत्पादनलाई जोड दिएको उहाँले बताउनुभयो ।

स्थानीय युवा राजु गुरुङले अहिलेका युवामा भन्दा जोस र जाँगर यमबहादुरमा भएको बताउनुभयो । सबैले गाउँ छाडे भन्दा उहाँले किन गाउँ छाड्ने, सहरभन्दा गाउँमै राम्रो छ भन्दै सम्झाउने गरेको बताउनुभयो । कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षको असार मसान्तसम्म गाउँपालिकाबाट १५६ परिवारका ५४६ जना बसाइँसराइ गरी गएको गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

पालिकाभित्रका सात वटामध्ये सबैभन्दा बढी वडा नम्बर २ अर्वेनी र वडा नम्बर ६ खडगकोटबाट ३२ घरपरिवारले बसाइँसराइको प्रमाणपत्र लगेका छन् ।  वडा नम्बर १ बाट १९, २ बाट ३२, ३ मा नौ, ४ मा १५, ५ मा २४, २ मा ३२ र ७ मा २५ परिवारले बसाइँसराइ गरी गएको गिरीले बताउनुभयो । 

एक वर्षमा पालिकाभित्र छ परिवारका १४ जना अन्यत्रबाट बसाइँ सरी आएको गाउँपालिकाले जनाएको छ । कृषि र पशुपालनलाई व्यावसायिकीकरण गरे बसाइँसराइ रोक्न सकिन्छ कि भन्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ ।