काठमाडौँ, फागुन २७ गते। नेपाली फिल्म ‘सरौतो’ मा भिलेनको रूपमा दर्शक सामु प्रस्तुत हुनुभएका अभिनेता टङ्क धमाला अभिनेताको रूपमा चर्चित हुनुहुन्छ। बेलायतमा बसोबास गर्ने अभिनेता धमालाले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्यान्डका हलमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ। ब्रिटिस फिल्म ‘डेन्जरस गेम’ मा समेत अभिनय गरिसक्नुभएका अभिनेता धमाला चलचित्रको मुख्य भूमिकामा हुनुहुन्छ।
अभिनेता धमालाले बलिउडको ब्लकबष्टर फिल्म ‘एनिमल’ सँगै ब्रिटिस एयरवेज, स्विस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरिसक्नु भएको छ।
‘मैले गरेका काम मेरो प्यासनको नतिजा हो। मैले अभिनयलाई नछाडेर यससम्बन्धी अध्यन गरेर काम गरिरहेको छु। पछिल्लो समय ब्रिटिस फिल्ममा देखिँदा पाएको प्रतिक्रियाले मलाई ऊर्जा थपेको छ’, उहाँले भन्नुभयो।
विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’ उहाँले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन शेयर गर्नुभएको छ।
उहाँले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण समेत लिएर तयार गरेको पात्रलाई अवार्ड समेत प्राप्त भइसकेको छ। इटलीमा सम्पन्न ‘मिलान इन्टरनेसनल फिल्म फेस्टिभल’ मा भएको ‘कामा’ को प्रदर्शनीमा उहाँ सर्वाेत्कृष्ट अभिनेता बन्नुभयो।
‘म्याड्रिड इन्टरनेसनल फिल्म फेस्टिभल २०२४’ मा सर्वाेत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको फिल्म ‘कामा’ ले बेलायत र आयरल्यान्डका हलमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ।
पेसाले चार्टर एकाउन्टेन्ट भए पनि उहाँले फिल्म सम्बन्धी अध्यन गरेर मोडलिङ सुरू गर्नुभएको हो। सन् २०१८ देखि मोडलिङमा सक्रिय अभिनेता धमालाले यसलाई आफ्नो सफलता मान्नुभएको छ।
ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आबद्ध भएर काम गरिरहनुभएका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहनु भएको छ। उहाँलाई केही ओटिटी र केही फिचर फिल्मकै प्रस्ताव आएका छन्।