• २८ फागुन २०८१, बुधबार

सजिवनको फूल चुरेको डाँडादेखि मधेशको मैदानसम्म

blog

बर्दीबास नगर ६ स्थित सडक किनारमा सेताम्मे फूलले ढाकिएका सजिवनका रुख। तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, फागुन २७ गते। जाडो जाने र गर्मी बढने क्रमसँगै ढकमक्क फूलले तराईका बारी बगैँचा, खेतखरिहान र सडकपेटीसम्म सेताम्मे देखिएका छन्। यो वहुपयोगी तरकारी सजिवनको फूल हो। फागुन महिना लागे यता ढकमक्क फुलले चुरेको डाँडादेखि मधेशका मैदानसम्मको रूपरङ फेरेको छ। 

यसका शुभ्र, स्वच्छ र स्निग्ध फूलले तराईको मुहारसमेत बद्लेको छ। यसअघि हरिया पातले ढाकिएका सजिवनका बोट सेताम्मे देखिएका छन्। फूलमा पराग चुस्न झुम्मिएका पुतली, माहुरी र साना प्रजातीका हमिङ बर्डले सजिवनका बोटमा परिस्थितिकीय महत्त्व पनि थपेका छन्। 

पातदेखि फूलसम्म पौष्टिकता र औषधीय गुणले परिपूर्ण यो तरकारीको भूगोल, भाषा र संस्कृतिअनुसार अनेकन नाम छन्। मधेशतिर सजिवन र मुन्गा, पहाडतिर शीतलचिनी, संस्कृतमा शोभाञ्जन, अंग्रेजीमा ड्रमस्टिक र अचेल मोरिङ्गा नामले परिचित यसको खेती सरल सहज र उत्पादनमूलक छ। 

फल टिपेको हाँगो काटेर रोपिदिए अर्को वर्षदेखि यसले उत्पादन दिन थाल्छ। यसलाई मल, बिउ, खनजोत, गोडमेल, औषधीमूलो जस्ता झन्झट बेहाेर्नु पर्दैन। बाँझो, सुक्खा, ढुङ्गे, बलौटे खेर गएका जमिनमा पनि लगाउन सकिने भएकोले यस भेगका घर आँगनदेखि खेतका आली (कान्ला) मा सजिवनको बोट पाइन्छ। 

बर्दीबास ६ चारघरेको सानो वस्तिमा गङ्गामाया बानियाँको रातुखोला बगरमा ५ कट्ठा मात्र जमिन छ। खेतमा मौसमी बाली र आलीमा १० वटा सजिवनको बोट लगाउनु भएको छ। 

गत वर्ष खाएर, बाँडेर, माइतमा कोशेली पठाएर पनि २० हजारजति सजिवनको फल बेचेको उहाँले बताउनुभयो।

गाउँका युवा नेत्रबहादुर कार्कीका अनुसार ५० परिवारको बसोवास रहेको चारघरेको सानो बस्तीमा झण्डै दुई सय सजिवनका बोट छन्।  गत वर्ष गाउँमा अनुमानित २०/२२ लाख रुपियाँ जतिको सजिवन उत्पादन भएको उहाँले बताउनु भयो। 


चारघरे त सानो उदाहरण मात्र हो। चुरे र मधेशका हरेक बस्तीमा चैतदेखि वैशाख अन्तिमसम्म यसको उत्पादन, उपयोग र व्यापार उत्कर्षमा पुग्छ। 

सजिवनलाई सिजनको सबैभन्दा महंगो तरकारी पनि मानिन्छ। स्थानीयका अनुसार बोटमै पुगेका व्यापारीले गत वर्ष कलिलो सजिवन प्रति किलो दुई सय रुपियाँको दरले किनेका थिए। बजारमा भने सोही सजिवन चार सयदेखि ५ सय रुपियाँसम्म बिक्री भएको स्थानीय उपभोक्ता मनोज थापा सम्झनुहुन्छ।

मधेशमा यसको सांस्कृतिक महत्त्व पनि छ। नव वर्षका भोलिपल्ट (वैशाख २ गते) पर्ने जुडशीतल पर्वमा स्थानीय परिकार साथै यसको तरकारी खाने चलनले मधेशको परिवेशमा सजिवनले सांस्कृतिक महत्त्व पनि बोकेको छ। 

कृषि ज्ञान केन्द्रका अनुसार सजिवनका बोटले महोत्तरीको २५ हजार हेक्टर क्षेत्रफल ओगटेको छ। यी बाेटबाट आर्थिक वर्ष ०७९/८० मा दुई लाख ७५ हजार किलो (२७५ मेट्रिक टन) सजिवन उत्पादन भएको ज्ञान केन्द्रका बाली विकाश अधिकृत मनिष पालले जानकारी दिनुभयो। 

बजार मूल्य सरदर तीन सय रुपियाँ प्रति किलोको दरले यसको उत्पादन आठ करोड २५ लाख मूल्य बराबर रहेको उहाँले सुनाउनुभयो। यो उत्पादनले नपुगेर भारतीय सजिवनको पनि उत्तिकै आयात हुने गरेको छ। 

विश्व बजारमा यसको पातको पाउडरको अत्यधिक माग भए पनि नेपाली किसानले यसको व्यापारीकरण गर्न सकेका छैनन्। सजिवनको फलमै चित्त बुझाएका छन्। 

सजिवनले स्वास्थ्य, पोषण, सौन्दर्य, वातावरण, आर्थिक समृद्धि जस्ता अनेकन आयाम समेटे पनि राज्यको तीनै तहका सरकारबाट यसको संरक्षण, उत्पादन र बजारीकरण उपेक्षित हुँदै आएको छ।  

मधेश प्रदेश कृषि निर्देशनालयमा त सजिवनबारे कुनै विवरण नै छैन। निर्देशनालयका वाली संरक्षण अधिकृत सुदीप चौधरीले सजिवन खेती विस्तार र प्रवर्धनका लागि कार्यक्रम तर्जुमा र बजेट विनियोजनबारे आफूलाई थाहा नभएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘आउँदो आर्थिक वर्षमा के हुने हो थाहा छैन। यसपाली भने सजिवनबारे कुनै प्रकारको कार्यक्रम छैन।’