• २८ फागुन २०८१, बुधबार

लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव

blog

काठमाडौं, फागुन २७ गते । सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद यादवले सबै दलले बिगतमा भएका गल्ती कमजोरी सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । चुरे विनाशविरुद्ध बोल्ने पत्रकारको क्यामरा फुटाउनु लोकतन्त्र विपरीत कार्य भएको उहाँको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा वरियताका आधारमा पहिलो नम्बरमा सिफारिस डा सङ्गीता कौशल मिश्रालाई सचिव बढुवामा सिफारिस नगरिएकामा सांसद यादवले आपत्ति जनाउनुभयो ।

सांसद रामप्रकाश चौधरीले स्वास्थ्य सचिव सिफारिस राजनीतिक आस्थाका आधारमा गरिएको आरोप लगाउनुभयो । उहाँले गत साउनमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद गङ्गाराम चौधरीले खुला सिमानाका कारण अवैध निकासी पैठारी नरोकिएको बताउनुभयो । “कैलालीका सर्वसाधरणले भारतबाट सामान ल्याउँदा दुःख पाउने गरेका छन् । छोटी भन्सार कार्यालय स्थापना गर्न पहल हुनुपर्छ,” उहाँले भन्नुभयो ।

शिक्षक आन्दोलनरत रहेका उल्लेख गर्दै सांसद चौधरीले उनीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस