विजयकुमार साह
ढल्केबर, फागुन २७ गते । आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अनुसार परीक्षाका लागि ३१२ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा एक हजार २३१ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् ।
यस वर्ष मधेश प्रदेशका ३१२ परीक्षा केन्द्रका लागि ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, चार हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक र एक हजार ६६६ जना कार्यालय सहयोगी खटाइने निर्देशनालयले जनाएको छ ।
परीक्षामा मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी धनुषाबाट सहभागी हुँदैछन् । यहाँका १९५ विद्यालयका १३ हजार ६५४ विद्यार्थी परीक्षा दिने छन् । सप्तरीबाट भने सबैभन्दा कम १४२ विद्यालयका आठ हजार ७१५ विद्यार्थी एसइईमा सहभागी हुने छन् ।
चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि चार हजार ६८० जना सुरक्षाकर्मी र १२ हजार २४२ जना कर्मचारी खटाइने निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक ठुलोबाबु दाहालले परीक्षाका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । उहाँले परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण, अनुगमन गरिने जानकारी दिनुभयो । त्यसलगायत मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक दाहालले बताउनुभयो ।
परीक्षा मर्यादित बनाउन प्रदेश सरकारले अनुगमन गर्ने
मधेश प्रदेश सरकारले परीक्षालाई मर्यादित बनाउन अनुगमन गर्ने भएको छ । मुख्यमन्त्री सतीसकुमार सिंहले आठ वटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवालालाई विभिन्न सल्लाह, सुझाव तथा निर्देशन दिएको बताउनुभयो ।
उहाँले परीक्षा केन्द्रको सुरक्षाका लागि मुल गेटमै सिसी टिभी क्यामेरा जडान गर्न सुझावसमेत दिएको जानकारी गराउनुभयो । उहाँका अनुसार चोरी गर्नेलाई कारबाही गरिने तथा परीक्षामा मोबाइल लगे जफत गरी फिर्ता नदिइने नियम लागु गरिने छ । मुख्यमन्त्री सिंहले सबैभन्दा राम्रो व्यवस्थापन गर्ने केन्द्राध्यक्षलाई प्रदेश सरकारले पुरस्कृत गरिने बताउनुभयो ।