चित्र मिजार
सिन्धुपाल्चोक, फागुन २७ गते । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सिन्धुपाल्चोकमा दुई विद्यार्थी सङ्गठनबिच भागबन्डा मिलेको छ ।
नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबिच ६/६ वटा क्याम्पसमा नेतृत्व लिने गरी भागबन्डा मिलेको छ । १२ वटा क्याम्पसमध्ये नेविसङ्घले बाह्रबिसे नगरपालिकामा रहेको अरनिको कलेज, लिसङ्खुपाखर गाउँपालिकको ककलिङ क्याम्पस, मेलम्ची नपाको मेलम्ची भ्याली क्याम्पस, पाँचपोखरी थाङपाल गापामा रहेको पाँचपोखरी बहुमुखी क्याम्पस, बलेफी गापाको जलविरे भ्याली क्याम्पस र जुगल गापाको जुगल क्याम्पसमा नेतृत्व पाउने गरी दुई विद्यार्थी सङ्गठनबिच सहमति भएको छ ।
त्यस्तै, अनेरास्ववियुले इन्द्रावती गापाको इन्द्रावती बहुमुखी क्याम्पस, सुनकोशी गापामा रहेको सुनकोशी क्याम्पस, ठोकर्पा क्याम्पस, चौतारा नगरपालिकाको चौतारा बहुमुखी क्याम्पस, अभयानन्द क्याम्पस र सिन्धु भ्याली क्याम्पसमा नेतृत्व लिने गरी सहमति भएको छ । नेविसङ्घका जिल्ला सभापति पवन घोरासैनी र अनेरास्ववियु जिल्ला अध्यक्ष रविन वाइबा तामाङको संयुक्त हस्तक्षरसहित सहमति भएको विज्ञप्ती प्रकाशन गरिएको छ । मङ्गलबार उक्त निर्वाचनको मनोनयन भएको छ ।