चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २७ गते । ताप्लेजुङमा निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको नेपालकै ठुलो जलविद्युत आयोजना माथिल्लो तमोरको कामले अब तीव्रता पाउने भएको छ । कुल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना सञ्चालनमा रहेको विवादको समाधान भएसँगै निर्माणको कामले तीव्रता पाउने भएको हो ।
आयोजनाको मुख्य प्रभाव क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकाको समन्वयमा भएको सर्वपक्षीय छलफलमार्फत सहमति बनेपछि कामले तीव्रता पाउने भएको छ । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार आयोजना सञ्चालनमा रहेको विवाद समाधानका लागि सात बुँदे सहमति भएको छ ।
आयोजना सञ्चालन गर्दा खानेपानीको मुहान तथा स्रोत सुक्ने, सिँचाइमा समस्या आउने, प्राकृतिक सम्पदाहरू मासिनेलगायतका विषयमा स्थानीयले विरोध गर्दै आएका थिए । विवादका उक्त विषय लगायतमा सर्वपक्षीय भेलामार्फत सहमति जुटेको हो । सहमति अनुसार आयोजना प्रभावित क्षेत्रका खानेपानी मुहानको संरक्षणको दायित्व जलविद्युत् आयोजनाले लिने भएको छ ।
पानीको मुहान तथा स्रोत कारण खानीपानी र सिँचाइमा समस्या आएको वैकल्पिक व्यवस्थापनमा हुने खर्च आयोजनाले बेहोर्नुपर्ने गरी सहमती भएको छ । यस्तै आयोजना निर्माणका क्रममा कुनै घर वा अन्य संरचनामा क्षति पुगे आयोजनाले क्षतिपूर्ति दिने सहमति भएको छ । आवश्यक सीप, क्षमता र दक्षताका आधारमा आयोजनाले स्थानीयलाई रोजगार प्रदान गर्ने भएको छ ।
त्यस्तै, स्थानीयद्वारा उत्पादित कृषिजन्य वस्तुहरू आयोजनाले पहिलो प्राथमिकता दिएर खपत गर्ने निर्णय भएको छ । आयोजना क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्दै निर्माणको काम गर्ने सहमति बनेको छ । त्यसैगरी आयोजना पक्ष र प्रभावित क्षेत्रका समुदायबिच समन्वय तथा आवश्यक सहजीकरणका स्थानीय सरोकार समिति गठन गर्ने पनि सहमति भएको छ ।
आयोजनाको काम समयभित्रै सम्पन्न गराउनमा समेत सरोकार समितिले सकारात्मक सहयोग र सहकार्य गर्ने सहमति भएको बताइएको छ । सर्वपक्षीय सहमति अनुसार खानेपानी तथा सिँचाइको वैकल्पिक व्यवस्थापन गर्नु परेमा र अन्य क्षतिपूर्ति दिनुपरेमा आयोजनाले सामाजिक उत्तरदायित्वको रकम बाहेकबाट आयोजनाले बहन गर्नुपर्ने छ ।
तमोर इनर्जी प्रालि मुख्य प्रवर्धक रहेको आयोजना ताप्लेजुङको फक्ताङ्लुङ भएर बग्ने तमोर नदीको पानी उपयोग गरेर निर्माण गर्न लागिएको हो । अर्ध जलाशययुक्त प्रकृतिको आयोजना निर्माणमा वातावरणलाई ठुलो क्षति नहुने गरी काम गरिने प्रवर्धक कम्पनी तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाको भनाइ छ । अध्यक्ष ढुङ्गानाका अनुसार ८.३७० किलोमिटर लामो सुरुङ हुने र सुरुङ निर्माणमा टिबिएम मेसिन प्रयोग गर्ने तयारी गरिएको छ ।
यता आयोजना निर्माणमा कुल ५५ अर्ब १५ करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ । बैँक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपूँजी ३० प्रतिशत रहने तमोर इनर्जी प्रालिले जनाएको छ । वित्तीय व्यवस्थापनमा एभरेस्ट बैँक लिमिटेडले अगुवाई गर्ने भएको आयोजनाले जनाएको छ । २०८५ साल जेठ तेस्रो साताभित्र आयोजना सम्पन्न गर्नेगरी निर्माणको प्रक्रिया अघि बढाइएको हो ।