• २८ फागुन २०८१, बुधबार

घाँस खेतीबाट आम्दानी लिँदै किसान

blog

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा किसानले गरेको बर्सिम घाँसको खेती । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन २७ गते ।
घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँ निवासी मिकसर चौधरीले हिउँदे वालीका रूपमा गहुँ, तोरी, मसुरो खेती गर्न छोडेको एक दशकभन्दा बढी समय भयो । गहुँ, तोरी, मसुरोभन्दा कम मेहनतमै घाँसबाट राम्रो आम्दानी लिन सकिने भएपछि मिकसरले पछिल्लो समय बर्सिम घाँस खेती गर्दै आउनुभएको छ ।

करिब एक बिघाभन्दा बढी जग्गामा घाँस खेती गर्नुभएका चौधरीले गतवर्ष डेढ लाख रुपियाँको घाँसको बिउ बिक्री गरेको बताउनुहुन्छ । प्रतिकेजी दुई सयका दरले साढे सात क्विन्टल घाँसको बिउ बिक्री गर्दा डेढ लाखभन्दा बढी आम्दानी गरेको बताउनुुहुन्छ । 

अन्य वाली जस्तो मिहिनेत गर्न नपर्ने र पशुपालनका लागि समेत सजिलो हुने भएकाले बर्सिम घाँस खेती गर्न थालेको भन्दै किसान मिकसरले भन्नुभयो, ‘‘घाँस खेती गर्नका लागि जोत्नु पर्दैन, चिसो जमिनमा छरर्दिए उर्मिहाल्छ । घाँस खेती गर्न दुःख छैन ।’’

घरमा दुई वटा भैसीसँगै बाख्रा, बङ्गुरपालेको भन्दै उहाँले घाँस खेतीले गर्दा सहजता भएको उहाँको भनाइ छ । घाँस खेती नगर्दा हिउँदमा पशुका लागि घाँस पाउनै गाह्रो हुने गरेको भए पनि घाँस गर्न थालेपछि समस्या हेटेको बताउनुभयो । बर्सिम घाँस पोसिलो हुने भएकाले दूध उत्पादन किसानका लागि अत्यन्तै लाभदायक भएको बताउनुहुन्छ ।

मिकसर जस्तै गुरुवागाउँकै मैनामती चौधरीको परिवारले पनि विगत दस वर्षयता करिब दस कठ्ठा जग्गामा बर्सिम घाँसको खेती गर्दै आउनुभएको छ । सिँचाइको सुविधा नभएको जमिनमा अन्नवालीभन्दा घाँस खेतीबाट राम्रो आम्दानी हुने भएपछि  तोरी, गहुँ र मसुरा खेती छोडेर बर्सिम घाँसको खेतीमा लागेको मैनामती बताउनुुहुन्छ । 

घाँस खेतीले गाईबाख्रा पाल्नदेखि बिक्रीका लागि सजिलो भएको भन्दै मैनामैतीले भन्नुभयो, ‘‘तोरी, मसुरो खेतीभन्दा घाँस खेती गर्दा सजिलोसँगै आम्दानी बढी हुन्छ । घाँस रोप्दा  जोत्नै पर्दैन, बिक्रीमा पनि समस्या हुँदैन ।’’ हरियो घाँससँगै बिउ उत्पादन गरेर बिक्री गर्दा वर्षमा ४०÷ ५० हजार रुपियाँ आम्दानी हुने र त्यही पैसाबाट दाल, तेललगायत घरका लागि आवश्यक सामग्री किन्ने गरेको बताउनुहुन्छ । हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेपछि बिउ उत्पादन गरेर बिक्री गर्ने गरेको भन्दै उहाँले भन्नुभयो,‘‘घरमा गाईभैंसी छन, घाँसको कुनै समस्या छैन, बिक्री गर्दा पनि राम्रो आम्दानी हुन्छ ।’’ उहाँले गतवर्ष साढे दुई क्वीन्टल बिक्री गरेको र यो वर्ष घाँसमा कीरा नलागेका कारण राम्रो उत्पादन हुने बताउनुहुन्छ ।

सानो परिवारले पनि थोरै मेहनतमा राम्रो आम्दानी लिन सक्ने भएकाले गाउँका अधिकांश व्यावसायिक घाँस खेतीमा जोडिएको शिवशक्ति घाँस बिउ उत्पादक संघका सचिव बिमल अधिकारीले बताउनुभयो । सचिव अधिकारीका अनुसार पछिल्लो समय घोराही–६ को गुरुवागाउँ बर्सिम घाँसको पकेट क्षेत्रको रूपमा विकास भएको र यससँगै घोराहीकै वडा नं. ५ र ७ नम्वर वडामा समेत किसान व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका छन् । उहाँका अनुसार जिल्लामा करिब तीन सय परिवारले पाँच सय बढी हेक्टर क्षेत्रमा घाँस खेती गर्दै आएका छन् । घाँस खेती गर्दा पशुपालनका लागि सजिलोसँगै जोत्न, मल हाल्न नपर्ने हुँदा कम लगानीमा राम्रो आम्दानी हुने भएकाले घाँस खेतीतर्फ आकषित भएको उहाँले बताउनुभयो ।

बिउ बिक्रीका लागि शिवशक्ति घाँसको बिउ उत्पादक सङ्घ कृषि सहकारी स्थापना गरेर लागेको भन्दै सचिव अधिकारीले भन्नुभयो, ‘‘सहकारीले किसानले उत्पादन गरेको घाँसको बिउ बिक्रीदेखि खेतीका लागि पहल गर्दै आएको छ ।’’

उहाँका अनुसार प्रतिकट्ठा  ३० देखि ३५ केजीसम्म घाँसको बिउ उत्पादन हुने गरेको छ । दाङमा उत्पादन भएको घाँसको बिउ बाँके, बर्दिया, प्युठान, कैलाली, कञ्चनपुर, कपिलवस्तु, धनुषा, सर्लाहीलगायतका विभिन्न ठाउँसम्म जाने गरेको बताउनुभयो । किसानले घाँसको बिउ प्रतिकिलो दुई देखि तीन सयसम्म मुल्यमा बिक्री गर्ने गर्दै आएका छन् ।