लमजुङ समाचारदाता
लमजुङ, फागुन २७ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ ।
राइनास नगरपालिका–५ निवासी सुभेक्षा परियारलाई वडा कार्यालयबाट अनुसूची १ भरेर अनलाइनबाट सिफारिस भई आएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको हो । प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत विष्णुकुमारी न्यौपानेले परियारलाई नागरिकता प्रदान गर्नुभयो ।
अनलाइन व्यवस्थासँगै अब सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनु पर्दैन । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित र छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणाली अपनाइएको बताउनुभयो ।
“गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्,” प्रजिअ गुरुङले भन्नुभयो, “सङ्केत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रुजु गरेर प्रशासनले नागरिकता प्रदान गर्छ ।”
पहिला १५ मिनेट लाग्ने काम अब पाँच मिनेटमै हुने उहाँले बताउनुभयो । प्रजिअ गुरुङले अब छिट्टै समयसीमा तोकेर सबै वडालाई अनिवार्य अनलाइन प्रणालीबाट सिफारिस गर्न लगाइने बताउनुभयो । गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाएपछि राइनास नगरपालिकाले पहिलो पटक यस्तो प्रविधिलाई अपनाएको हो । जिल्लाका आठ पालिकामा ७५ वडा रहे पनि अन्य वडाले अनलाइन प्रणाली सुरु गरेका छैनन् । राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले छिट्टै सबै वडाबाट अनलाइन प्रणाली सुरु गरिने बताउनुभयो ।
यस प्रणालीमा निवेदकको माग अनुसार विवरण प्रविष्टि गरेपछि सिस्टमबाटै सिफारिस तयार हुने र सिफारिस प्रिन्ट गरेर वडाध्यक्षले सही गरेर छाप लगाएपछि सिस्टममा अपलोड हुने व्यवस्था छ । प्रविधिले समयको बचत, खर्चमा कमी र छिटोछरितो सेवा पाउँदा खुसी लागेको सेवाग्राही सुभेक्षा परियारले बताउनुभयो ।