• २८ फागुन २०८१, बुधबार

अझै घटेन महिलाको कार्यबोझ

blog

कालीकोट समाचारदाता

कालीकोट, फागुन २७ गते । दुर्गमका महिलाको कार्यबोझमा कमी आएको छैन । खानेपानी, सडकलगायतका सेवासुविधाले कार्यबोझ घटेको भनिए पनि एकपछि अर्को समस्या महिलामाथि थपिँदा कार्यबोझमा कमी नआएको हो । सडक पुग्यो, आफ्नो यातायात छैन । एक भारी दाउरा र एक भारी घाँस बोक्न कसैले गाडी दिँदैनन् । भाडा तिर्ने पैसा हुँदैन । त्यसैले महिलालाई सधैँ काममा व्यस्त हुनुपर्ने बाध्यता रहेको स्थानीय महिला बताउँछन् । खाँडाचक्र नगरपालिका–३ का उमा पाण्डेले जति विकास भए पनि महिलाका दुःख उस्तै भएको बताउनुभयो । उहाँले एकथरी काममा कमी भए पनि अर्कोथरी थपिएको उल्लेख गर्नुभयो । घरआँगनमा पानीका धारा हुँदा अलि टाढा गएर पानी ल्याउनुपर्ने बाध्यता टरे पनि अन्य काम भने सबै उस्तै रहेको पाण्डेको भनाइ छ । 

सान्नीत्रिवेणी गाउँपालिका–२ का शोभा गिरीले महिलाका लागि आराम गर्ने समय भनेको सुत्केरी हुँदा मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्केरी भएको दिनदेखि १९ दिनसम्म आराम गर्न पाइन्छ, त्यसपछि त उस्तै काम गर्नु पर्छ ।” रेङ्गिलमा घाँसको भारी बोक्दै गर्दा भेटिएकी गिरीले महिलाको दैनिकी सधैँ कष्टपूर्ण हुने गरेको सुनाउनुभयो । कहिले घाँस काट्न जाँदा लडेर महिलाको ज्यान जाने गरेको छ भने कहिले घाइते हुने गरेका छन् । पशुचौपाया पाल्न प्रयोग गरिने घाँस, खाना पकाउन प्रयोग गरिने दाउरा ल्याउन ग्रामीण क्षेत्रमा महिला नै बढी जाने गरेका छन् । यसका कारण उनीहरूको कार्यबोझमा कमी आएको छैन ।