• २७ फागुन २०८१, मङ्गलबार

संकटमा कुसुन्डा भाषा, संरक्षण गर्न माग

blog

कुसुन्डा भाषाका एक्ली पूर्णवक्ता कमला कुसुन्डा । तस्बिरः सलिम मियाँ

सलिम मियाँ

बिजुवार, फागुन २६ गते । नेपालमा कुल १२४ भाषामध्ये सबैभन्दा लोपोन्मुख भाषा कुसुन्डा भाषा हो, जुन अहिले संकटमा छ । २०७६ माघ ११ गते ज्ञानुमैयाँ कुसुन्डाको निधनपछि यो भाषा बोल्ने एकमात्र पूर्णवक्ता ५० वर्षीया कमलासेन कुसुन्डा मात्र बाँकी रहनुभएको भनिन्छ ।

रोल्पाको टुनिबोटमा जन्मनुभएकी कमलाले भन्नुभयो, ‘पहिले दिदीसँग मातृभाषामा कुरा गर्थें, तर अब म मात्र छु । म मरे भने यो भाषा पनि मर्छ ।’ १८ वर्षको उमेरमा विवाह गरेपछि परिवारको जिम्मेवारी सम्हाल्दै कमला श्रोतव्यक्तिको रुपमा आफ्नो मातृभाषा बचाउन निरन्तर लागिुरहनु भएको छ । उहाँ भाषा बोल्न र सिकाउनमा समर्पित भएर प्रयास गर्दै हुनुहुन्छ । विडम्बना, उहाँको आफ्नै परिवारका सदस्यहरूले पनि कुसुन्डा भाषा बोल्न सक्दैनन् । उहाँका तीन छोरा, एक छोरी, तीन नाती र दुई नातिनीमध्ये कसैले भाषा सिकेका छैनन् । 

जंगलको फिरन्ते जीवनबाट गाउँमा स्थायी बसोबास गर्न थालेपछि कुसुन्डा भाषा हराउँदै गएको कमलाको अनुभव छ । विकासक्रममा जङ्गल छोडेर गाउँमा बसेपछि उनीहरूमा नेपाली बोल्ने बानी भयो । बाहिरी समुदायसँग अन्तरक्रिया बढ्दैगयो, बिहेवारी अन्य जातिहरूसँग हुन थाल्यो । अन्ततः भाषा सिक्ने नयाँ पुस्ता हराएको बताइन्छ ।

कुसुन्डा समुदाय तीन वंशज— शाही, सेन र खानमा विभाजित छन्। । नेपालको लोपोन्मुख भाषामध्ये कुसुन्डा भाषा सबैभन्दा जोखिममा रहेको छ । कुसुन्डा भाषाका अध्येता उदयराज आले मगरले ‘ज्ञानुमैयाँपछि, भाषा बचाउने मुख्य स्रोत कमला मात्र रहनुभएको बताउनहुन्छ । भाषाको आयु छोटिँदै छ, अब जति सकिन्छ सिक्नुपर्ने बेला हो’ उहाँले भन्नुभयो ।

कुसुन्डाको संस्कृति बचाउन समस्या भएको हुँदा सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । लोपोन्मुख जातिका रूपमा मासिक सामाजिक सुरक्षा भत्ता पाए पनि यो पर्याप्त नरहेको उहाँको भनाइ छ ।

एक समय ूवनराजाू भनेर चिनिने कुसुन्डा समुदायले वनलाई आफ्नै अधिकार क्षेत्र मान्थे । चार दशक अघिसम्म वनमा छउन्जेल आफ्नो भाषामा कुरा गर्थे । खाद्यान्नदेखि बासस्थानसम्म उनीहरु जंगलमै निर्भर थिए । सिकार खेल्ने, गिट्ठा–भ्याकुर खाने उनीहरूको जीवनशैली थियो ।

बसाइँसराइ उनीहरूको स्वभाव थियो । जब कुनै ठाउँमा खानेकुरा सकिन्थ्यो, अर्को जङ्गलमा सर्थे । अस्थायी बासस्थानका लागि स्याउलाको एकपाखे छानो भएका टहरा बनाउँथे । जङ्गली रूखका पात ओछ्याएर सुत्थे । बसाइँ सर्नेबेला माटोको जोखना हेर्थे—राम्रो देखिए बस्ने, नभए अर्को ठाउँ खोज्ने गर्थे ।

उनिहरु दसैंका बेला पितृपुजा र वर्षमा एक पटक वनदेवीको पूजा गर्थे । धामीझाँक्रीका मन्त्रजपले उनीहरूको विश्वासको जरा गढेको थियो । विवाहमा जंगली पन्छीको मासु लिएर केटी माग्न जाने चलन थियो । मामाकी छोरी र फूपूको छोराका बिचमा विवाह हुने चलन थियो । आफ्नै मामाकी छोरी नभएको खण्डमा अन्य परिवारका केटी र केटासँग विवाह गर्ने उनिहरुको चलन थियो । डेढ दशककुसुन्डा भाषा संस्कृतिको खोज अध्ययनमै बिताएका अध्येता आलेका अनुसार अहिले कुसुन्डा जातिका सबै गाउँमा बस्न थालिसकेका छन् । गाउँको बसाइँसँगै उनीहरूको भाषा, संस्कृति, संस्कार पनि हराउँदै गइरहेको छ ।  हाल प्युठान, सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, र गोरखामा कुसुन्डा समुदायका सदस्यहरू बसोबास गर्छन् । नेपालभर ३५ घरधुरीका १५९ कुसुन्डा समुदायका सदस्य रहेका छन् । जसमा १० घरधुरी प्युठानमा छन् । कुसुन्डा समुदाय ऐलानी जग्गामा बसोबास गर्दैआएका छन् । 

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले भन्नुभयो, ‘भाषा र संस्कृति बचाउन कुसुन्डालाई एकीकृत बस्तीमा बसाउन आवश्यक छ ।’ यस विषयमा संघीय सांसद सूर्य थापाले पनि लोपोन्मुख भाषाको संरक्षण राज्यको दायित्व भएको बताउनुभयो । एकीकृत बस्ती निर्माणमा उहाँले जोड दिनुभएको छ ।  हाल नयाँ पुस्ता भाषा बचाउन सक्रिय रहेको बताइन्छ । 

दाङमा भाषा आयोगले ज्ञानुमैयाँलाई स्रोतव्यक्ति बनाएर सञ्चालन गरेको कक्षाबाट सामान्य बोल्न र लेख्न सिकेका प्युठानकी हिमा कुसुन्डा र सुर्खेतका तेजबहादुर कुसुन्डा अब अरूलाई पनि भाषा सिकाउन सक्ने भएका छन् । प्युठानको सरुमारानीमा चलिरहेको कुसुन्डा भाषा तालिममा कमला स्रोत व्यक्ति, उदयराज आले प्रशिक्षक र हिमा सहायक प्रशिक्षकको भूमिकामा हुनुहुन्छ ।

अध्यक्ष आलेले तयार पारेका ‘कुसुन्डा शब्दकोष’ ‘कुसुन्डा शब्दचित्र,‘कुसुन्डा पाठ्यक्रम’, ‘गेम्याक’ र ‘सोजक’ सहित एक दर्जन पुस्तकहरू प्रकाशित भइसकेका छन् ।