केदार तिमल्सिना
बनेपा, फागुन २६ गते । आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा रहेको तीन वटा विद्यार्थी सङ्गठनले नेतृत्वको लागि सहमति गरेका छन् ।
नेपाल बिद्यार्थी संघ (नेवि सङ्घ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र अखिल क्रान्तिकारीले सोमबार १५ वटा क्याम्पसको नेतृत्वका लागि सहमति गरेका हुन् ।
सहमतिअनुसार नेपाल बिद्यार्थी सङ्घले जिल्लाको इन्द्रेश्वर क्याम्पस, प्रकाश बहुमखी क्याम्पस, कानपुर क्याम्पस, चैतन्य क्याम्पस, पार्वती क्याम्पस र मङ्गल जनविजय क्याम्पसमा नेतृत्व गर्नेछ । अनेरास्ववियुले जिल्लाको तेजगङ्गा बहुमुखी क्याम्पस, जनक क्याम्पस, सर्वमङ्गला क्याम्पस, डेडिथुम्का क्याम्पस, धुलिखेल क्याम्पस र कुशादेवी क्याम्पसमा नेतृत्व गर्ने सहमति भएको हो ।
यस्तै अखिल क्रान्तिकारीले सञ्जिवनी क्याम्पस, प्रभा बहुमखी क्याम्पस र दाप्चा बहुमुखी क्याम्पसको नेतृत्व गर्ने सहमति भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष दिपेश तिमल्सिनाले जानकारी दिनुभयो । सहमतिअनुसार अनेरास्ववियुले प्रभा क्याम्पसमा सहसचिव, तेजगङ्गा क्याम्पसमा कोषाध्यक्ष र सर्वमङ्गला क्याम्पसमा उपसभापति पद लिनेछ ।
अखिल (समाजवादी) सङ्गठनले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वर क्याम्पसमा दुई सदस्य र धुलिखेल क्याम्पसमा एक जना सदस्य पाउने सहमति भएको छ । जिल्लाको पुरानो क्याम्पस काभ्रे क्याम्पसमा भने मित्रवत रुपमा प्रतिस्पर्धात्मक रुपमा निर्वाचन गर्ने सहमति गरेका छन् । चैत ५ गते काभ्रेपलाञ्चोक जिल्लामा १६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।