काठमाडौँ, फागुन २५ गते। नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारलाई चारैतिरबाट प्रहार सुरु भएको बताउनुभएको छ।
अखिल नेपाल महिला सङ्घले एक सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘महिला हिंसा अन्त्यका लागि घरघरमा सदस्य टोलटोलमा सङ्गठन हाम्रो अभियान’ भन्ने नाराका साथ तुलसीलाल समृति प्रतिष्ठान, च्यासलमा आइतबार आयोजित जलवायु परिवर्तन र महिला : अवसर र सम्भावना विषयक विचार गोष्ठिमा उहाँले सो कुरा बताउनुभएको हो।
उपाध्यक्ष शाक्यले नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर बनेको सरकारलाई चारैतिरबाट प्रहार सुरु भएको भन्नुहुँदै निरङ्कुशता फर्काउने र त्याग र बलिदानबाट प्राप्त गणतन्त्र कमजोर बनाउने कुरा कुनै हालतमा सम्भव नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, “नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर निर्माण भएको सरकारलाई चारैतिरबाट प्रहार सुरु भएको छ। बाटो जाम गरिरहेको छ। यसले सरकारलाई चुनौती दिन्छ। निरङ्कुशता फर्कने, बलिदान र सङ्घर्षबाट प्राप्त गरेको गणतन्त्र कमजोेर बनाउने। यो कुनै पनि हालतमा सम्भव छैन। त्याग, बलिदान र तपस्या गरेको राजनीतिक दल निस्तेज बनाउने यो सम्भव छैन।”
उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गौरवपूर्ण दिनको रुपमा मनाउनुपर्ने तथा समाजवादको लक्ष्यमा आफूहरु दृढ भएको भनाइ राख्नुभयो।
उहाँले भन्नुभयो, “एमालेलाई एकताबद्ध पार्टी बनाउनुपर्छ। विचारयुक्त, सुशासनयुक्त, अनुशासनयुक्त बलियो पार्टी नेकपा (एमाले) बनाउनुपर्छ। हाम्रो लक्ष्य समाजवाद भन्नेमा हामी दृढ छौं। एक सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गौरवपूर्ण दिनको रुपमा मनाऔं। राजनीतिक दलका महिललाई संयोजन गर्नुपर्छ, संयुक्तरुपमा महिला आन्दोलन उठ्न सकेको छैन।”
उहाँले महिलासम्बन्धी प्रतिवेदन निर्माण गरेर प्रधानमन्त्रीकहाँ बुझाउन अनेमसङ्घलाई सुझाव समेत दिनुभयो।
उहाँले भन्नुभयो, “एउटा डेलिगेसन जानुस्। प्रधानमन्त्रीलाई त्यो प्रतिवेदन दिन ढिलो भइसक्यो। पीडितलाई सजाय कसरी दिनुपर्छ भन्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ। हिंसामुक्त भएन भने समाज अगाडि बढ्न सक्दैन। परिस्थिती सहज छैन।”
उहाँले एमालेको पछिल्लो सचिवालय बैठकमा देशबाट युवा पलायन भएको र यसले पारिवारिक बिछोड गराउको सम्बन्धमा गम्भिर छलफल भएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “युवा पलायन हुँदैछन्। अस्ति सचिवालयमा पनि कुरा उठेको थियो। यो पलायनले परिवार बिछोड भयो। मानसिक चिन्ता बढेको छ। मानसिक पीडा लिएर हुर्केको केटाकेटी कस्तो होला भन्ने चिन्ता भएको छ। हाम्रो समाज, परिवार विकृत र बिछोड हुँदै गएको छ। एकातिर जलवायुको समस्या छ। अर्कोतिर बिछोडको स्थिती भएको छ।”
नेकपा (एमाले) सचिव पद्मा अर्यालले अबको केही समयमा पानीका कारण तेस्रो विश्वयुद्ध हुने आकलन भएको सन्दर्भमा जलवायु सम्बन्धी कार्यक्रम आयोजना भएकोमा महिलाले महिलाको मात्रै कुरा गर्छ भन्ने भाष्यलाई चिर्न खोजेको विचार राख्नुभयो।
सचिव अर्यालले भन्नुभयो, “महिलाले महिलाको मात्रै कुरा गर्छ भन्ने एजेण्डाबाट माथि उठेर जुन खालको छलफल भएको छ, आर्थिक, सांस्कृतिक, राजनीतिक विषयमा बोल्न सक्ने यो विज्ञता हो। महिलामा विज्ञता छ भनेर स्वीकार्न गाह्रो छ।”
उहाँले राजनीति सँगसँगै आर्थिक सशक्तिकरण गर्दै जानुपर्ने बताउनुभयो। महिला आन्दोलन नयाँ ढङ्गबाट अगाडि बढाउने विषयमा परिवर्तन भएपनि चुनौती कायम रहेको उहाँको भनाइ छ।
कार्यक्रममा एमाले नेतृ डा. विमला राई पौड्यालले जलवायु परिवर्तनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो।