भारतीय लेखिका तथा अभियन्ता कमला भसिन एक समयमा निकै चर्चामा आइन् । कारण थियो– लैङ्गिकताबारे फरक धारणा अघि सार्नु । उनले आफ्नो कृति अन्डरस्ट्यान्डिङ जेन्डर (सन् २०००) मा लेखिकी थिइन्– प्रत्येक व्यक्तिमा स्त्रीत्व र पुरुषत्व दुवै हुन्छ तर समाजले स्त्रीभित्र लुकेको पुरुषत्व र पुरुषभित्र लुकेको स्त्रीत्वलाई मौलाउन दिँदैन ।
स्त्रीत्व र पुरुषत्वबारे सूक्ष्म किसिमले विश्लेषण गर्ने हो भने कमला भसिनको धारणाप्रति असहमति जनाउनुपर्ने कुनै कारणै छैन । शारीरिक बनोट, स्वर, हर्मोन आदिका दृष्टिले पुरुष र महिलाबीच केही भिन्नता रहे पनि उनीहरूबीच धेरै समानता पनि छ । जस्तै : महिला र पुरुष दुवैको छातीभित्र मुटु चल्छ । दुवैलाई मानवीय संवेदनाले छुन्छ । जिन्दगानीका खुसियालीपूर्ण पलले दुवैका ओँठमा मुस्कान छरिदिन्छ । दुःखदायी घटनाले दुवैको परेली भिजाइदिन्छ ।
यसबाहेक महिला र पुरुषमा भेटिने स्वभावगत गुणहरू एकअर्कामा सारनतारन भएको पाइन्छ । अझ प्रस्ट किसिमले भन्ने हो एउटै व्यक्तिमा पुरुषप्रधान र महिलाप्रधान गुणको सम्मिश्रण भेटिन्छ । जो लैङ्गिक अध्ययनमा एन्ड्रोजिनी (बलमचयनथलथ) नामले चिनिन्छ । यसबारे थुप्रै अध्ययन भएका छन् ।
पौराणिक आध्यात्मिक दर्शनमा पनि ‘एन्ड्रोजिनी’ को प्रसङ्ग आउँछ । ‘अर्धनारीश्वर’ लाई यसैको दृष्टान्त मान्न सकिन्छ । एकातिर शिव र अर्कोतिर पार्वतीको रूप झल्कने चित्र वा छवि पाइन्छ, जो ‘अर्धनारीश्वर’ नामले परिचित छ । यसले स्त्रीभित्र लुकेको पुरुषत्व र पुरुषभित्र लुकेको स्त्रीत्वलाई झल्काएको पाइन्छ । आधुनिक लेन्सबाट हेर्दा ‘जेन्डर फ्लुडिटी’ को अवधारणालाई यही मान्यताको प्रतिरूप मान्न सकिन्छ ।
ममतामयी पिता
समाजले सन्तान हुर्काउने मूल जिम्मेवारी आमाको काँधमा नै थोपरिदिन्छ । पितामा आमाको जत्तिको स्नेही हृदय हुँदैन भन्ने कथन बरोबर सुनिन्छ । सन्तानप्रति पिताको व्यवहारबारे लोकमान्यता जेसुकै भए पनि लालाबालाको पालनपोषणमा पिताले खेलेको भूमिका कमजोर छैन । समाजमा असङ्ख्य ममतामयी पिता छन् । उसले आफ्ना सन्तानलाई आमाले झैँ छातीभित्रको अमृत पिलाउन नसके पनि मातृवत् स्नेह दिएर हुर्काएका दृष्टान्त कति छन् कति । कतिपय अवस्थामा विधुर पिताले टुहुरिएका लालाबालालाई स्नेहको बर्को ओढाएर पालनपोषण गरेका हुन्छन्– एउटी स्नेही माउले आफ्ना चल्लालाई पखेटाले छोपेर हुर्काए झैँ ।
समयको काँचुली फेराइसँगै सन्तानको पालनपोषण गर्ने जिम्मेवारी पितामाथि थपिएको देखिन्छ । महिला साक्षरताको दर वृद्धि भएसँगै समाजमा कामकाजी महिलाको सङ्ख्या बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा लालाबालाको स्याहारसुसार गर्ने जिम्मेवारी शनैः शनै आधुनिक पिताहरूको भागमा पर्न गएको छ ।
अध्ययनले पनि यही देखाउँछ । समाजशास्त्री डा. नोवाल चेज्लीले जेन्डर एन्ड सोसाइटी जर्नल (सन् २०११) मा प्रकाशित शोधपत्रमा कामकाजी महिलाको सङ्ख्यामा बढोत्तरी हुँदै गर्दा सन्तान हुर्काउने जिम्मेवारी समाल्दै आएका पिताहरूबारे गजबको नालीबेली पेश गरेका छन् । रहरले होस् वा बाध्यताले अब पिताहरू आमा जत्तिकै ममतामयी बन्नुपर्ने परिस्थिति बन्नुपर्ने अवस्था आएको छ ।
बहादुर महिला
हाम्रो समाजले बहादुरीपनलाई मर्दको पेवा नै ठानेको देखिन्छ । इतिहासलाई गहिरिएर चिन्तन मनन गर्ने हो भने यस्तो सोचाइ कता कता मिथ्या लाग्छ । इतिहासको विभिन्न कालखण्डमा नारीले प्रदर्शन गरेका साहसिक थुप्रै गौरवगाथा छन् । जसले बहादुरीप्रतिको सामाजिक मान्यतालाई एकाङ्गीपूर्ण साबित गरिदिन्छ । कहिले वीर पुरुषसँग काँधमा काँध मिलाएर त कहिले ऊभन्दा दुई कदम अघि बढेर बहादुरी कमाएका विश्वभरका वीरङ्गनाको गौरवगाथा इतिहासका पानामा छताछुल्ल भेटिन्छन् ।
नालापानीको युद्धमा भक्ति थापा जस्ता वीर गोर्खाली सहयोद्धासँग काँधमा काँध मिलाएर अङ्ग्रेजसँग लडेका वीरङ्गनाहरू हामीकहाँ थिए । दुर्भाग्यवश तिनले प्रदर्शन गरेका बहादुरीको गाथा इतिहास लेखिएन । पृथ्वीनारायण शाहकी बुहारी तथा प्रतापसिंह शाहकी पत्नी राजेन्द्रलक्ष्मीको नाम वीरङ्गनाका रूपमा लिइन्छ । उनले आफ्नो नायबीकालमा नेपाल एकीकरण अभियानलाई अगाडि बढाउन महìवपूर्ण भूमिका खेलेकी थिइन् भनी इतिहासकारहरूले चर्चा गरेका छन् ।
साम्राज्यवादी बेलायती सेनासँग भिडेर अदम्य साहस देखाउने झाँसीकी रानी लक्ष्मीबाईको आँट र साहस इतिहासका पानामा सगर्व स्वर्ण अक्षरले लेखिएको छ । ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख भए अनुसार उनले सन् १८५७ को लडाइँमा महिला दस्ताको नेतृत्व गर्दै अङ्ग्रेजसँग साहसिक तवरमा भिडन्त गरिन् । सोही भिडन्तमा उनले २९ वर्षकै उमेरमा प्राणोत्सर्ग गरिन् । उनको व्रmान्तिकारी गौरवगाथा अनुकरणीय दृष्टान्त बन्दै आएको छ ।
समाजमा विद्यमान थिचोमिचो, दमन र पक्षपातका विरुद्ध खरो किसिमले उत्रिने रोजा लक्जेम्बर्ग इस्वी संवत्को बीसौँ शताब्दीको महान् समाजवादी विचारक, व्रmान्तिकारी योद्धा र महिला अधिकारकर्मीका रूपमा बहुपरिचित छिन् । माक्र्सवादी सिद्धान्त र दर्शनका व्याख्याताका रूपमा परिचित जर्मन–राजनीतिको केन्द्रमा उनी रहिन् । उनी मूलतः वैचारिक वीरङ्गना थिइन् । उनको वैचारिक सङ्घर्ष–गाथा स्तुत्य र अनुकरणीय छ ।
यही सिलसिलामा फ्रान्सेली बालवीरङ्गना जोन अफ आर्कको चर्चा नगरी रहन सकिँदैन । हिस्ट्री च्यानलको वेबसाइटमा प्रकाशित एक सामग्री (अप्रिल २६, २०२४) का अनुसार उनी आफ्नो देशको भूगोल अङ्ग्रेजले कब्जा गरेको सहन नसकी सानै उमेरमा सैन्य टोली गठन गरी टोलीको नेतृत्वमा रहेर युद्धभूमिमा होमिइन् । १७ वर्षको उमेरमै सैन्य दस्ताको नेतृत्व आफ्नो गुमेको भूगोल फिर्ता लिन अथक प्रयत्न गरिन् उनले । उनको जुझारुपन अवर्णनीय छ । विश्व इतिहासमा उनी साहस र बहादुरीको प्रतिमूर्ति बनेकी छन् ।
समाजमा अझै पनि थुप्रै राजेन्द्रलक्ष्मी, लक्ष्मीबाई, रोजा लक्जेम्बर्ग तथा जोन अफ आर्कको प्रेरणादायी गौरवगाथा लेखिन बाँकी देखिन्छ ।
मर्दको आँसु
मर्द रुन हुन्न भन्छन्, कहाँ रुन जानी
छोरा मान्छेभन्दा त छोरी भाग्यमानी
पशुपति शर्माका गीतको यी हरफले ओँठमा जुँगा उम्रिएका मर्द रुन हुँदैन भनी समाजले थोपरेको मनोवैज्ञानिक बोझलाई झल्काउँछ । सामाजिक मान्यता अनुसार छोरा मान्छे कठोरताको अर्को नाम हो । मर्द रुन हुन्न भन्ने मान्यताले समाजमा जरो गाडेको छ, जसले छोरा मान्छेलाई अप्ठ्यारोमा पारेको छ । आँखाभरि आँसुको सागर छचल्किए पनि उसले अरूको अघिल्तिर अश्रुधारा बगाउनु हुँदैन । आँसुलाई परेलीभित्रै लुकाउनु पर्छ । अन्यथा उसले नामर्दको संज्ञा पाउँछ । कुनै मर्द अरूका अगाडि आँसु लुकाउन असमर्थ भएमा टिप्पणी सुन्नु पर्छ– कस्तो आइमाई जस्तो ! ?
यसको अर्थ हो– समाजले पुरुषलाई आँसु चुहाउन नजान्ने ढुङ्गाको हृदय भएको कठोर प्राणी सम्झन्छ ।
समाजले जस्तसुकै टीकाटिप्पणी गरे पनि सबै मर्दले आँसु लुकाउन सकेका छैनन् । मानव अधिकारवादी छवि निर्माण गरेका तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य पद्मरत्न तुलाधर ‘राष्ट्रिय पञ्चायत’ मा डाको छाडेर रोएको कुरा एक समय चर्चाको विषय बनेको थियो । क्रान्तिकारी राजनीतिक पृष्ठभूमिबाट सत्तारोहण गर्न सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक कार्यक्रममा भावुकतावश द्रवीभूत बनेको समाचार तस्बिरसहित छापिएका थिए । त्यस घटनाले ‘प्रचण्ड’ को क्रान्तिकारी छवि र अश्रुपुरित भावुकतामाथिको बहस पैदा गरिदिएको थियो ।
ब्रिटिसले १५५ वर्ष लामो अवधिसम्म हङकङमाथि अधिपत्य जमाएको थियो । सन् १९९७ (विसं २०५४) मा ब्रिटिसले चीनलाई हङकङ हस्तान्तरण गर्न लागेको थियो । हस्तान्तरण समारोहमा ब्रिटिसकालीन हङकङका तत्कालीन गभर्नर क्रिस प्याटन बिदाइ भाषण गरिरहेका थिए । त्यतिबेला उनको आँखाबाट बलिन्द्र अश्रुधारा बगे । कठोर साम्राज्यवादी छवि बोकेका देशका गभर्नर द्रवीभूत बनिरहेको त्यस दृश्य टेलिभिजनले प्रसारण गरेको थियो ।
दोस्रो विश्वयुद्धमा कठोर छवि बनाएका ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिल पनि जीवनका आरोह अवरोहपूर्ण घटनामा आँसु बगाउँदा रहे छन् । चर्चिलको जीवनवृत्तान्त अध्ययन गर्दा यो तथ्य खुल्छ । एक दृढनिश्चयी नेताका रूपमा बहुपरिचित रहे पनि उनी सार्वजनिक तवरमै द्रवीभूत हुन पुगेका क्षणको अभिलेख भेटिन्छन् । ब्रिटिस इतिहासकार तथा पत्रकार आन्ड्रु रबर्टस्ले विन्स्टन चर्चिलको जीवनवत्तान्त चर्चिल : वाकिङ उइद डेस्टिनी (सन् २०१८) मा विन्स्टन चर्चिलले अश्रुधारा बगाएका क्षणका अभिलेखीकरण गरेका छन् ।
यी दृष्टान्त ‘ओलम्पिक गेम’ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हारेका र जितेका दुवै तप्काका खेलाडीले भावुकतावश बलिन्द्र अश्रुधारा बगाउँदै साथीसङ्गीसँग अङ्कमाल गरेको दृश्य टेलिभिजनमा तपाई–हामीले देखिआएको हो । यस्ता दृश्य मर्दले सार्वजनिक स्थलमा आँसु लुकाउन नसकेका केही दृष्टान्त मात्र हुन् । यसबाहेक बन्दकोठामा रुन्चे–पिन्चे मर्दहरूले सिरानी भिजाएका घटना अगणित होलान् । यस्ता घटनाको सूक्ष्मतम विवरण समेटिएको स्याहा–स्रेस्ता कुन बहिदार वा स्रेस्तादारका अभिलेखमा भेटिएला र !
चट्टानी नारी हृदय
समाजले नारीमाथि थोपरेको मनोवैज्ञानिक बोझ पनि कम छैन । नारीलाई निर्धोपन, कोमलता, लजालुपन र भावुकताको प्रतिमूर्ति मान्ने गर्छ । समाजले महिलालाई कुरौटे, रुन्ची, पिन्ची र कमजोर ठान्छ । एक अर्थमा हाम्रो समाजले नारीलाई आँसुको मुहान नै ठान्ने गर्छ । हुन पनि नातागोता, छिमेकी तथा परिवारका सदस्यको मृत्युमा धेरै आँसु खसाल्ने नारी नै देखिन्छन् ।
यसको अर्थ सबै नारी रुन्ची–पिन्ची हुन्छन् भन्ने चाहिँ हुँदै होइन । यो नियम यत्रतत्र सर्वत्र लागू हुन्छ भन्ने पनि होइन । कतिपय नारी हदैसम्म कठोर, अटल र धैर्यवान् हुन्छन् । जो आफन्तजनको मृत्यु वा कुनै दुःखद परिस्थितिमा समेत आँसु खसाल्न जान्दैनन् । बरु उल्टै आँसुमा डुबिरहेका मर्दलाई सान्त्वना दिँदै तिनका मानसिक घाउमा मलम लगाउन अघि सर्छन् । अरू सबै जना आँसुको आहालमा डुबिरहँदा एक थोपा पनि आँसु नखसाल्ने कठोर, अटल र धैर्यवान् नारी समाजमा नभेटिने होइनन् ।
समाजले नारीमाथि रुनैपर्ने आँसु संहिताका थोपरिदिएको छ । त्यही अव्यावहारिक आँसु संहिताका अगाडि कतिपय नारी अभिनय गरेर भए पनि आँसु खसाल्न बाध्य हुन्छन् । समाजले तयार पारिदिएको आँसु संहिता पालना गरेन भने उनी ढुङ्गा जस्तो हृदय भएको अलच्छिना एवं निर्दयी नारी ठहरिन्छ पुग्छ । नेवार समुदायमा मरिमराउ हुँदा १३ दिनभित्रका निश्चित दिनमा महिलाले रुनैपर्ने नियम छ ।
अब प्रश्न उठ्छ, के हाम्रो समाजमा विद्यमान आँसु संहिता विज्ञानसम्मत छ ? के आँसु संहिता मनोविज्ञानको कसीमा सही ठहरिन सक्छ ?
हाँसो र आँसुको नैसर्गिकता
रुनु र हाँस्नु जिन्दगीको अपरिहार्य शर्त हो । यसलाई बन्देज गर्ने तागत कसैमा छैन । नारी र पुरुष दुवै दुःखमा द्रवीभूत र खुशीमा मुस्कुराउन सक्छन् । यो उसको नैसर्गिक अधिकार हो । जसमा कुनै अस्वाभाविकता तथा अप्राकृतिकपन पनि छैन ।
समाजले पुरुषलाई दुःखमा पनि रुन लायक ठान्दैन । हुँदाहुँदा त आफूलाई जन्माउने आमा परलोक हुँदासमेत छोरालाई रुन बन्देज छ, मनोवैज्ञानिक रूपमा । छोरा मान्छेको मुटु ढुङ्गाले बनेको हुँदैन । पुरुषलाई मान्छेबाट ‘मेसिन’ बनाउने यो सामाजिक काइदा–कानुन कति जायज छ ? छोरा मान्छेको मुटु ढुङ्गाले बनेको हुँदैन । अनि त उसले आँसुको भेल कसरी रोक्न सक्छ ?
अनि नारीलाई भने अभिनय गरेर भए पनि आँसु खसाल्न पर्ने बाध्यता छ । यसबारे अगाडि नै चर्चा भइसकेको छ ।
यस्तो लाग्छ– हाम्रो सामाजिक मनोविज्ञानमा कहीँ ठूलै खोट छ । यसलाई सच्याउन अत्यावश्यक छ । अब कमलो मनका मर्दले पनि आफ्नो पीरव्यथामा धोको फुकाएर रुन सकोस् अनि कठोर स्वभाव भएकी छोरी मान्छे अभिनय गरेर रुनुपर्ने दिन समाप्त होस् ।
रुवाइ कुनै फगत प्रक्रिया पनि होइन । मनोविज्ञान र चिकित्साशास्त्रमा रुवाइको औषधीय महìव छ । यसबारे थुप्रै गहन अध्ययन भएका छन् । मजाले रोयो भने मनको पीर–व्यथा आँसुसँगै बगेर जान्छ भन्ने मान्यता छ । धोको फेरेर रोएपछि धेरैले हलुको महसुस गर्छन् । रुवाइले भावनात्मक व्यवस्थापन र नियमनका लागि प्राकृतिक ओखतीका रूपमा काम गर्छ भन्ने कथन स्वास्थ्यविद्हरूको छ ।
रुवाइले सामाजिक र मनोवैज्ञानिक पक्षलाई पनि सबल बनाउँछ भन्ने विज्ञहरूको बुझाइ छ । दी जर्नल अफ सोसल एन्ड क्लिनिकल साइकोलोजी (सन् २००८) मा प्रकाशित एक शोधपत्रका अनुसार रुवाइबाट सम्बन्धित व्यक्तिलाई सामाजिक सान्त्वना प्राप्त हुनुका साथै आत्मिक सुख र भावनात्मक स्वास्थ्य सुधारमा सहयोग पुग्नेबारे चर्चा गरिएको छ (मास्तुमोटो र अरू, २००८) ।
रुवाइको सही व्यवस्थापन भने हुनै पर्छ । एउटा हिन्दी गीत छ– रोते रोते हँसना सिखो, हँसते हँसते रोना... । यसले जिन्दगीमा हाँसो र रुवाइको सही व्यवस्थापन हुनु पर्छ भन्ने सन्देश दिएको छ । सर्वविदितै छ– सुख–दुःख र हाँसो–आँसु मानव जीवनका शाश्वत पक्ष हुन् । जसमा पुरुष र नारीको बराबर हिस्सेदारी छ– न धेरै न त थोरै नै । अनि हाँसो र आँसुको नैसर्गिकता अटुट र अपरिहार्य छ ।
बिसाउनी
स्त्रीभित्र लुकेको पुरुषत्व र पुरुषभित्र लुकेको स्त्रीत्वलाई जीवनको वास्तविकता हो । त्यसबाट निसृत मनोविज्ञान र क्रियाकलाप पनि जीवनको वास्तविकता नै हो । मानिसका नैसर्गिक भावना र क्रियाकलापलाई बन्देज गर्ने प्रयत्न गरिनु वा नाजायज करार गरिनु कति न्यायसङ्गत छ ? यसबारे थप बौद्धिक विचार–विमर्श आवश्यक छ ।