स्वतन्त्रता प्राप्तिका लागि ज्यान अर्पण गर्ने व्यक्तिलाई सहिद भनिन्छ । आफ्नो देशभित्रको स्वतन्त्रता वा अरू देशसँगको स्वतन्त्रताको लडाइँमा नडराएर सहभागी भई मारिने व्यक्ति नै सहिद हुन् । आफ्नो देश, संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षणका लागि बलिदान दिनेलाई पनि सहिद भनिन्छ । ती अमर रहन्छन् । तिनीहरूका नाम इतिहासमा सुनको अक्षरले लेखिएका हुन्छन् । राज्यले सहिद भनेर घोषणा गरिसकेपछि तिनीहरूको नाम परिवर्तन हुँदैन ।
राणाकालमा निरङ्कुश शासन व्यवस्था थियो । कुनै अङ्कुश वा बन्धन नभएकोलाई निरङ्कुश भनिन्छ । राणा शासकहरूले देशको नियम वा कानुनभन्दा आफ्नो हुकुमलाई महत्व दिने र आफ्नो हुकुमलाई नै कानुन मान्ने भएकाले निरङ्कुश शासन भनिएको हो । त्यो समयमा सबै नेपालीले स्वतन्त्र रूपमा हक अधिकार प्रयोग गर्न पाउँदैन थिए । तसर्थ एकलौटी शासन व्यवस्था हटाउनु पर्छ भनेर व्यक्ति एक्लो वा समूहले आन्दोलन गरे । त्यो कुरा राणा शासकले थाहा पाए र आन्दोलनकारीलाई मारिदिए । ती मारिएकालाई प्रजातन्त्रपछि सहिद घोषणा गरिए ।
नेपालको पहिलो सहिदका रूपमा लखन थापालाई लिइन्छ । जङ्गबहादुरको निरङ्कुश शासन व्यवस्थाका बारेमा लखन थापाले विद्रोह गरेका थिए । उनले विद्रोह गर्न एक हजार पाँच सय सैनिक पनि तयार गरेका थिए । यो कुरा जङ्गबहादुरसम्म पुग्यो । त्यसपछि लखन थापाको खोजी गरियो । अन्तिममा उनी र उनका सहयोगीलाई पक्राउ गरियो । लखनलाई विसं १९३३ पुसमा गोर्खा बुङ्कोटमा रहेको उनको घरअगाडि झुन्ड्याएर मारियो ।
राणा शासन अन्त्यका लागि नेपाली युवा भारतमा एकबद्ध हुँदै गएका थिए । नेपालमा एकबद्ध हुन सम्भव थिएन । त्यसैले समूह बनाउने, छलफल गर्ने, योजना बनाउने आदि काम भारतमा गरिन्थ्यो । राणा शासक र भारतमा राज्य गर्दै आएका ब्रिटिस शासकबिच सम्बन्ध राम्रो भएकाले भारतमा रहेका नेपालीले खुलेर छलफल गर्ने वा योजना बनाउने काम गर्न सक्दैन थिए । त्यहाँ पनि लुकेरै काम गर्नु पथ्र्याे ।
नेपाली युवाले भारतबाट रोनियो साइक्लोस्टाइल नामक मेसिन काठमाडौँमा भित्र्याउन सफल भए । त्यसलाई लिथो मेसिन पनि भनिन्थ्यो । त्यो छाप्ने हाते मेसिन थियो । एकै जनाले बोक्न मिल्ने सानो हुन्थ्यो । त्यसमा राणा शासकका विरुद्धमा लेखेर पर्चा छापियो । विसं १९९७ असार १ गते रातो मत्स्येन्द्रनाथको रथजात्राका बेला पर्चालाई काठमाडौँका सहरभित्र छरियो । पर्चा छर्ने मानिसको खोजी हुन थाल्यो । चार महिनापछि अर्थात् कात्तिक २ गते धर्मभक्त माथेमा पक्राउ परे । क्रमशः अरू पनि पक्राउ पर्न थाले । त्यसै वर्षको माघ ७ गते दिउँसो ४ बजे सबै बन्दीलाई सिंहदरबारको पश्चिमतर्फको चौरमा उभ्याइयो । प्रधानमन्त्री जुद्धशमशेरले धमाधम सजाय सुनाउन थाले ।
धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री (जोशी), गङ्गालाल श्रेष्ठ र पूर्णनारायण प्रधानलाई ज्यान सजाय सुनाइयो । पछि पूर्णनारायणलाई माफी दिइयो । बाँकी चार जनालाई मारियो । दशरथ चन्द र गङ्गालाललाई बन्दुकले मारियो भने धर्मभक्त र शुक्रराजलाई फाँसी दिइएको थियो । झुन्ड्याएर मार्नुलाई फाँसी दिएको भनिन्छ । ती सहिद भए । सबैभन्दा पहिले माघ १० गते शुक्रराजलाई पचलीमा झुन्ड्याइयो । माघ १३ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याइयो । माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी मारियो ।
२००७ साल फागुन ७ गते प्रजातन्त्र प्राप्त भयो । २०१० सालबाट हरेक वर्षको माघ १६ गते सहिद दिवस मनाउने प्रचलन सुरु भयो । यसबिचमा पटक पटक राजनीतिक आन्दोलन भए । अहिले त सहिदको सङ्ख्या हजारौँ पुगिसकेको छ । सहिदका कारण आज हामी गणतन्त्रात्मक मुलुकमा छौँ ।
– प्रकृति