गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २१ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपाली समाजबाट लैङ्गीक, वर्गीय, क्षेत्रीय लगायतका सबै किसिमको विभेदको अन्त्य गर्न जागरुकता देखाउन आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले दलित महिला सङ्घद्वारा बुधवार राजधानीमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दलित महिलामाथि भइरहेको हिंसासम्वन्धी कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
मन्त्री सुडीले दलितमाथि सदियौं पहिलेदेखि हुँदैआएको हिंसाको अन्त्यका लागि राज्यले ऐनको व्यवस्था त गरेको छ, त्यसको कार्यान्वयन नुहँदा दलित महिला, किशोरी र सिमान्तकृत, गरिब महिला समेत पीडित बनाउनेक्रम चलिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसामध्ये पनि दलित महिला, किशोरीमाथि भइरहेको यौनहिंसा, अन्तरजातीय विवाह गरेको बहानामा समेत दलित समुदाय बढी पीडित भइरहेको बताउनुभयो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवकुमार विश्वकर्माले दलितले खेपेको सामाजिक विभेदका कारण दलित वर्ग नै बढि गरिबीको रेखामुनि रहेको बताउनुभयो ।
राष्ट्रिय समावेशी आयोगका कार्यकारी अध्यक्ष विष्णुमाया ओझाले समाज परिवर्तनशील छ, नेपाली समाजमा विविध शीर्षकमा हुने हिंसा र विभेदमा पहिलेभन्दा अहिले सुधारात्मक अवस्था आएको बताउनुभयो ।
डा. अरुणा उप्रेतीले दलित वर्ग, महिलाको नाममा गरिने विभेद र हिंसाको कारण सो समुदायको शिक्षा, शारिरीक र मानसिक स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो ।
उप–प्रध्यापक तिलक विश्वकर्माले दलित प्रतिको भेदभाव र हिंसाको बद्लिदो स्वरुपबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले दलित महिला सङ्घले दलित महिलामाथि भएका हिंसाका घटनाहरुको अध्ययन गरेअनुसार नेपाल प्रहरीमा परेका महिला हिंसाका उजुरीमध्येमा हिंसापीडित दलित महिलाको कुल सङ्ख्या ११.५४ प्रतिशत, हिंसापीडित दलित बालिकाको सङ्ख्या १९.४४ प्रतिशत रहेको बताउनुभयो ।
अध्ययन अनुसार अन्तरजातीय विवाह गरेका ७१.७ प्रतिशत महिलाहरुले आफूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डर, धाक र धम्कीको सामना गर्नुपरेको, ७०.८ प्रतिशतले सार्वजनिक स्थानमा दुव्र्यवहार र अपमान भोग्नुपरेको अध्ययनमा सहभागीले बताएका छन् ।