• २२ फागुन २०८१, बिहिबार

निसीखोलामा घरबास सञ्चालनको तयारी

blog

ढोरपाटन उपत्यकाको स्यालपाखेमा सञ्चालित घरबास । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन २१ गते । गएको शनिबार बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा बाक्लो हिमपात हुँदा मध्यपहाडी लोकमार्गका धेरै यात्रीले खान बस्ने सुविधा नहुँदा सास्ती खेपेका छन् । 

हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरूले सवारी साधनमा भाेकै रात बिताएका छन् । पातिहाल्नेमा जम्मा दुई वटा होटल सञ्चालनमा छन् । ती होटलले यतिधेरै यात्रुलाई सेवा दिन सम्भव थिएन । 

प्राकृतिमा रमाउन चाहने आन्तरिक पर्यटक दैनिकजसो पातिहाल्नेमा पुग्ने गर्छन् । पातिहाल्ने मात्र होइन, निसीखोलाको ग्रामीण जीवनशैलीलाई नजिकबाट नियाल्न पछिल्लो समय पर्यटक त्यहाँ पुगिरहन्छन् । निसीखोला गाउँपालिकाबिच भाग हुँदै मध्यपहाडी लोकमार्ग बनेपछि झिंवाखोला, निसीगाउँ, अर्नाकोट, भल्कोट लगायतका ठाउँले पर्यटकलाई आकर्षित गरेका छन् । 

सडक सञ्जालसँग जोडिएपछि गुमनामजस्तै रहेको नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन उपत्यकादेखि बुकीको फन्को मार्ने पर्यटकको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । ढोरपाटन पुग्ने पर्यटक चाहेजस्तो सेवासुविधा नपाउँदा बुर्तिवाङ बजार फर्किएर बास बस्नुपर्ने अवस्था छ । निसी र ढोरपाटन पुग्ने पर्यटकलाई सेवा दिनेगरी सो क्षेत्रमा घरबास सञ्चालनको तयारी भइरहेको छ ।  

आरक्ष र पश्चिम बागलुङका पर्यटकीय क्षेत्र पुग्ने पर्यटकका लागि व्यवस्थित होटल तथा रेष्टुराँ नरहेको र एकाद सञ्चालनमा रहेका घरबासले आवश्यकता पूर्ति गर्न नसकेपछि पर्यटन प्रवर्धन परियोजनामार्फत निसी र ढोरपाटन क्षेत्रमा ३० वटा घरबास सञ्चालनको तयारी थालिएको हो । 

‘घरबास चलाउन युवाहरूलाई तालिम दिने, घरबासका लागि आवश्यक सामग्री तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने काम सुरु भइसकेको छ’ परियोजना निर्देशक अमर थापाले भन्नुभयो । 

ढोरपाटन र निसीमा दिगो पर्यटनका लागि चार वर्षसम्म पर्यटन प्रवर्धन परियोजना सञ्चालन हुनेछ । ३० वटा घरबास सञ्चालनको तयारीमा जुटिरहेको परियोजनाले हालसम्म ५ वटालाई सहयोग गरिसकेको छ । परियोजनामार्फत ढोरपाटन र निसीखोलाका १२ विद्यालयमा ई–लाइब्रेरीका लागि ल्यापटप लगायतका सामग्री वितरण गरिएको निर्देशक थापाले जानकारी दिनुभयो । 

‘ढोरपाटन र निसी बागलुङका मुख्य पर्यटकीयस्थल हुन्, त्यहाँ पूर्वाधारको विकास गर्नसके पर्यटनमार्फत आर्थिक समृद्धिमा पुग्न सकिन्छ’ जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भन्नुभयो, ‘ढोरपाटनमा पुग्ने पर्यटकलाई स्थानीय खानाका परिकार र कला तथा संस्कृतिले स्वागत गर्न ढिला गर्नु हुँदैन ।’ 

दिगो पर्यटन प्रवर्धन कार्यक्रमले ग्रामीण क्षेत्रमा पर्यटक भित्र्याउन र स्थानीयको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने थापाको विश्वास छ । जनैपूर्णिमाको दिन ढोरबाराहीको दर्शन गर्न सबैभन्दा बढी धार्मिक पर्यटक पुग्छन् । 

त्यहाँ पर्याप्त होटल नहुँदा धेरै जना बोबाङ र बुर्तिवाङ बजारमा झरेर रात बिताउँछन् । आरक्षका अनुसार आर्थिक वर्ष २०७९–८० को तुलनामा आर्थिक वर्ष २०८०–८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ । २०७९–८० मा पर्यटक प्रवेश शुल्कबाट नौ लाख ८३ हजार २ सय रुपियाँ राजस्व सङ्कलन भएको थियो भने २०८०–८१ मा १९ लाख ३३ हजार सातसय रुपियाँ सङ्कलन भएको छ ।