काठमाडौँ, फागुन २१ गते । युगान्डा भ्रमणका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपालले मार्च ७ देखि १६ तारिखसम्म युगान्डासँग क्रिकेट सिरिज खेल्नेछ । टोलीलाई बुधबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालगायत पदाधिकारीले बिदाइ गर्नुभयो ।
सिरिजका लागि (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । क्यानले दुई साता बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो ।
टोलीमा साना प्रविन र रिया शर्माले पहिलो पटक स्थान बनाउनुभएको छ । प्रशिक्षणमा रहेका सीमाना केसी, सबनम राई, शोभा रोकाय र मनीषा उपाध्याय बाहिरिनुभएको छ ।
टी–२० सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबियाको सहभागिता रहनेछ। सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल मार्च ८ तारिख नामिबयासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल मार्च ९ मा युगान्डा र तेस्रो खेल मार्च १० मा हङकङसँग खेल्नेछ । यस्तै नेपालले पुनः मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङको सामना गर्नेछ ।
युगान्डा जाने खेलाडी टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन र रिया शर्मा हुनुहुन्छ ।