• २२ फागुन २०८१, बिहिबार

१०औँ खेलकुदका लागि मूल आयोजक समितिको बैठक

blog

१०औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठकमा सहभागीहरु ।

काठमाडौँ, फागुन २१ गते । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चारबुँदे निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा यही फागुन २५ स्थापना गर्ने, १०औँ राष्ट्रिय खेलकुदको सहआयोजकको रुपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकोले सो कार्य सम्पादनका लागि अनुरोध गर्ने,  राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागि पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद् अन्तर्गत खर्च नहुने पुँजीगत रकममध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालयमार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी (पूर्व तयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेश गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

सो अवसरमा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायतका विषयमा जानकारी गराउनुभएको थियो । खेलकुद मन्त्री चौधरीले राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउँदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गर्नुभया । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न कर्णाली प्रदेश सरकारले सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

यही फागुन १५ गते बसेको राखेपको १२१ औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।