• २२ फागुन २०८१, बिहिबार

ब्रदर्शलाई पुल्चोक क्रिकेट लिगको उपाधि

blog

रमेश विश्वकर्मा 

गुल्मी, फागुन २१ गते । पुल्चोक क्रिकेट लिगको उपाधि ब्रदर्श युथ सोसाइटीले जितेको छ ।

गुल्मीको तम्घासस्थित पुल्चोक स्पोर्ट्स क्लबको आयोजनामा चिदिचौर खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा दुबिचौर टाइगरलाई ३४ रनले पराजित गर्दै ब्रदर्श युथ सोसाइटीले पुल्चोक क्रिकेट लिगको चौथो संस्करण को उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्ता पाएको ब्रदर्शले निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमै सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । ब्रदर्शका लागि सम्राट थापाले २९ रन बनाउनुभयो । सुरज सारु र सुरज थापाले समान ३।३ विकेट लिनुभयो । 

ब्रदर्शले दिएको १२९ रनको लक्ष्य पछ्याएको दुबिचौर टाइगरले १५.५ ओभरमै सबै विकेट गुमाउँदै जम्म ९४ रन मात्र बनायो । दुबिचौरका सन्तोष परियारले २८ रन बनाए पनि टोलीलाई जिताउन सक्नुभएन ।

प्रतियोगिता अवधिमा उत्कृष्ट ब्याट्सम्यान दुबिचौर टाइगरका सुमन टण्डन, उत्कृष्ट बलिङ र सर्वाेत्कृष्ट खेलाडी ब्रदर्श युथ सोसाइटीका सुरज सारु र इमर्जिङ् खेलाडी आयोजक पुल्चोक स्पोर्ट्स क्लबका सरोज कुँवर बन्नुभयो । पुल्चोक क्रिकेट लिगको चौथो संस्करणको उपाधि जितेको ब्रदर्श युथ सोसाइटीले ४० हजार रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता भएको दुबिचौर टाइगरले १० हजार रुपियाँ पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गरेको पुल्चोक स्पोर्ट्स क्लबका अध्यक्ष प्रकाश मरासिनीले जानकारी दिनुभयो । 

गत शुक्रबारदेखि सुरु भएको पुल्चोक क्रिकेट लिगको चौथो संस्करणको प्रतियोगितामा विभिन्न चार क्लबले भाग लिएका थिए । विगतदेखि नै क्रिकेट लिगको आयोजना गर्दै आएको यस क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।