• ७ वैशाख २०८२, आइतबार

शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ सार्वजनिक

blog

कथाकार शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ सार्वजनिक गरिँदै । तस्बिरः इक लिब्जुभुम्जु

काठमाडौँ, फागुन २१ गते । कथाकार शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । वाम्बुले राई समाज नेपाल (वाम्रास) संस्थाले ओखलढुङ्गाको मानेभन्ज्याङ–३ वामद्याल (उँबुगाउँ) मा निर्माण गरेको मुन्दुम सांस्कृतिक प्रतीक स्वालेवा स्तम्भ पार्क उद्घाटन समारोहमा उक्त कृति सार्वजनिक गरिएको हो । 

सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसद रामहरि खतिवडा, संविधानसभाका सभासद् यज्ञराज सुनुवार, राष्ट्रगानका रचनाकार व्याकुल माइला र संस्थाका अध्यक्ष गजुरधन राईले उक्त कृति सार्वजनिक गर्नुभएको थियो । 

ओखलढुङ्गाको वामद्यालमा २०२४ सालमा जन्मिएका कथाकार राईको यो दोस्रो एकल कृति हो । उहाँ वाम्बुले राई मातृभाषाका लेखकसमेत हुन् । उहाँको यसअघि २०६८ सालमा ‘ल्आकाचिम सारिङ्मो’ (रातो भाले) वाम्बुले भाषाको कथासङ्ग्रह प्रकाशित छ ।

उहाँका कथावस्तु ग्रामीण परिवेश, गरिबीले काइपरेको जनजीवन, लाहुरेको सहर भनेर चिनिएका धरानमा हुर्केका युवाहरूमा सल्किएको विकृतिजस्ता विषयलाई मिहिन ढङ्गले केलाउनु भएको छ। सङ्ग्रहमा समेटिएका कथाहरू काल क्रमका हिसाबले पञ्चायत काल, बहुदलीय प्रजातन्त्र काल, जनयुद्ध र गणतन्त्र कालका विषय पात्रमार्फत् उजागर गरिएको पाइन्छ । 

यो कृति भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । यस सङ्ग्रहभित्र ८६ वटा शीर्षक कथा समेटिएका छन् । ‘फिस्टे कान्छाको दसैं बोनस’, ‘गाउँमा साकेला’, ‘बहिनीलाई चिठ्ठी’, ‘खोयाबिर्केको अपार लीला’, ‘बिर्खेको सपना’, ‘सुखको खोजीमा सहर पसेको धनबहादुर’, ‘दिलबहादुरको अनन्त यात्रा’, ‘गलैंचा लाहुरेहरू’, ‘पोथी बास्यो’, ‘आसबहादुरले दसैं मनाएन’, ‘नागरिकता’ छन् । यसैगरी ‘पहाडे डाक्टर’, ‘राजनीति’, ‘गाउ“ले बूढाको सन्देश’, ‘फूलमती बजै र पोलियो थोपा’, ‘गुरूसर’, ‘लाहुरेलाई खबर’, ‘मट्याङ्ग्रा’, ‘हाट भर्न हिंडेका राई, लिम्बू र बाहुन’, ‘डलरको खेती’, ‘साइँला र अन्तरेको भाकल’ छन् । 

यस्तै, ‘चरिचुच्चे काजी’, ‘गुइँठे माइला’, ‘भातको लागि बाँचेको एउटा जिन्दगी’, ‘भीमनारायण सरको चिन्ता’, ‘अनि गन्जे एसएलसी प्रथम श्रेणी’, ‘खत्री कान्छा’, ‘धरान उत्सव’, ‘कुलुङ बूढाको अठोट’, ‘भाकल’, ‘लिखुरे’, ‘समय–चक्र’, ‘सिमे देउ’, ‘बाघवीर बूढाको चिन्ता’, ‘झिल्केको बिहे’, ‘सङ्कटकाल’, ‘गाउँमा अरपे लाउरेहरू’, ‘नारी दिवस’ रहेका छन् । यसैगरी ‘झाँक्री कान्छा’, ‘रातो भाले’, ‘काइँलासँगै दुखेको मन’, ‘जम्दार जेठा’, ‘पिउरे कान्छा’, ‘ढाक्रे’, ‘भिरपानी गाउँ’, ‘नयाँ पुस्ता’, ‘बदमास’, ‘प्रतीक्षा’ लगायत शीर्षकमा जीवन्त कथाहरू उनिएका छन् ।