घोराही समाचारदाता
घोराही, फागुन २१ गते । दाङको घोराहीमा पर्यटन मार्गको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराही उपमहानगरपालिका–१८ अन्तर्गत घोराही–घोरदौरा सांस्कृतिक डबली पर्यटन सडकको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
घोराहीको विकट बस्तीका रूपमा रहेको घौरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले सडक निर्माणको कामलाई सरकारले अघि बढाएको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर लोकेन्द्र पुनले जानकारी दिनुभएको छ । इन्जिनियर पुनका अनुसार पर्यटन सडक अन्तर्गत घोराही–घोरदौरा सडकखण्डको उकालो अप्ठेरो ठाउँमा ढलान, नाला निर्माणसँगै भिरालो ठाउँमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् ।
चालु आर्थिक वर्षको जेठ मसान्तभित्र सडक स्तरोन्नतिको काम सक्ने गरी गतवर्ष भएको ठेक्का सम्झौता अनुसार मोनालिसा उर्मिला निर्माण सेवा घोराहीले सडक निर्माणको काम गरिरहेको इन्जिनियर पुनले बताउनुभयो । सडक निर्माणमा निर्माण काम ठिकै ढङ्गले भइरहेको बताउँदै उहाँले अगाडि भन्नुभयो, “बिग्रिएको ठाउँमा मर्मतसँगै ढलान, जाली लगाउने, नाला निर्माणलगायतका काम भइरहेको छ ।”
जेठ मसान्तसम्म स्तरोन्नतिको काम सक्ने गरी काम भइरहेको छ । ४० लाख रुपियाँ बजेटमा गत वर्ष काम सक्ने गरी नकुल इन्जिनियरिङ कन्सलटेन्सी एन्ड कन्स्ट्रक्सन प्रालीले ठेक्का पाएको भए पनि उक्त निर्माण कम्पनीले काम नगरेपछि यो वर्ष मोनालिसा उर्मिला निर्माण सेवाले सडक निर्माणको ठेक्का प्राप्त पाएको छ ।
सडकको बाँकी रहेको स्तरोन्नतिको काम २० लाख २२ हजार ४२१ रुपियाँमा भएको ठेक्का सम्झौता अनुसार अहिले काम भइरहेको इन्जिनियर पुनले बताउनुभयो । उहाँका अनुसार समयमा काम नगरेको नकुल इन्जिनियरिङ कन्सलटेन्सी एन्ड कन्स्ट्रक्सनलाई कार्यालयले एक लाख १९ हजार ३३३ रुपियाँ जरिबाना तिराएको छ । घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउनका लागि लुम्बिनी प्रदेश सरकारले २०७५ सालमा सांस्कृतिक डबली निर्माणको कामलाई अघि बढाएको थियो ।
सांस्कृतिक डबली निर्माणलगायत पूर्वाधार निर्माणमा डेढ करोड रुपियाँ बढी खर्च भइसकेको भए पनि अझै पूर्णता पाउन भने सकेको छैन । घोरदौरा बस्तीसँगै सांस्कृतिक डबली पुग्नका लागि सहजता होस् भन्ने उद्देश्यले सडक निर्माणको कामलाई अघि बढाइएको भए पनि सीमित बजेटका कारण सडक निर्माणमा ढिलाई भएको घोराही उपमहानगरपालिका–१८ घोरदौरा निवासी सन्तोष घर्ती बताउनुहुन्छ ।
सडक निर्माणसँगै नाचघर निर्माण भएमा घोरदौरावासीले विकासको महसुस गर्न पाउने उहाँ बताउनुहुन्छ ।