हुम्ला समाचारदाता
हुम्ला, फागुन २१ गते । जिल्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि बेलिब्रिज बन्ने भएको छ । गत पुसमा नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार दोजाम कर्णाली नदीमाथिको बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय कार्यान्वयनमा आएपछि बेलिब्रिज निर्माण कार्य अगाडि बढेको हो ।
खार्पुको दोजाम कर्णाली नदीमाथि बेलिब्रिज निर्माण अगाडि बढेको नेपाली सेनाको कर्णाली कोरिडोर निर्माण कार्यदलका प्रमुख अमृत पराजुलीले बताउनुभयो । सो बेलिब्रिज निर्माणका लागि गत फागुन ११ गते टेन्डर आह्वान भएको छ । यसअघि नेपाली सेनाले कर्णाली कोरिडोरकै दुल्लीकुनादेखि लालीबगर क्षेत्रको काम सम्पन्न गरे पनि हालसम्म सुनाखाडामा सेनाको निर्माण दल बस्दै आएको छ । सोही दलले खार्पुको बेलिब्रिजको निर्माण सुरु गर्ने उहाँले बताउनुभयो ।
सुनाखाडा क्षेत्रको सडक निर्माणका क्रममा प्रयोग भएका कम्प्रेसर मेसिन, एक्साभेटर, जेसिबीलगायतका मेसिनरी सामानको मर्मतमासेना लागेको छ । उहाँले अबको २० दिनमा खार्पुमा बेलिब्रिज निर्माण सुरु हुने र सुरु भएको मितिले तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारीमा सेना रहेको उहाँले बताउनुभयो ।
खार्पुमा ५२ मिटर (१७० फिट) लामो बेलिब्रिज निर्माण हुने छ । सो बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएपछि मात्रै सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ ।