• २२ फागुन २०८१, बिहिबार

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

blog

इलाम,  फागुन २१ गते ।  रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् ।

सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसारखेतीमा अकर्षित भएका हुन् ।

बाँदरले दुःख दिएर खेती गर्न  मन नलागेका बेला रोङ–४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उहाँले बारीभरि बेसार लगाउनुभएको छ । “एक रोपनी जमिनमा ४० केजी बेसार रोपेको दश ४०० केजी फल्यो । बाँदरले दुःख नदिने रहेछ । बजार खोज्नु पर्दैन, सहकारीले बारीबाट नै लैजान्छ”, गुरुङले भन्नुभयो, “४० केजी एक हजार छ सयका दरले बिक्री भयो ।” पहिले–पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।

सोही वडास्थित गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोप्नुभएको थियो । मनग्य उत्पादन भएपछि उत्साहित उहाँहरुले खेती विस्तार गर्ने योजना सुनाउनुभयो । 

सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर सङ्कलन केन्द्र तोकेको छ । त्यहाँबाट रु ३० प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार गरिद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताउनुभयो । ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ र ‘लेभलिङ’ पनि सहकारी नै गर्दै आएको छ । “धेरैले सहकारी संस्थाको कार्यालयमा आएर समेत लैजान्छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकामा आउने अतिथिलाई पालिकाले स्थानीय उत्पादन नै कोसेलीका रूपमा उपहार दिन्छ ।” रासस