• २२ फागुन २०८१, बिहिबार

प्रदेश गौरवका आयोजनाको काम सुस्त

blog

धनगढी समाचारदाता

धनगढी, फागुन २१ गते । सुदूरपश्चिम प्रदेश गौरवका आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको छ । सरकारले छ वर्षदेखि कार्यान्वयन गरिरहेको सडकको काम आशातीत रूपमा अगाडि बढ्न सकेको छैन । पर्याप्त बजेट विनियोजन नहुनु र निर्माण कम्पनीले पनि तदारुकताका साथ काम नगर्दा आशातीत प्रगति नभएको बताइएको हो । विसं २०७५ चैत ११ मा प्रदेश सरकारले नौ वटै जिल्लामा एक/एक वटा प्रदेश गौरवको सडक बनाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ बाट प्रदेश गौरवका सडक निर्माणको काम भइरहेको छ । 

छ वर्षमा करिब २७ किलोमिटर मात्रै सडक कालोपत्रे भएको प्रदेश सरकारको वार्षिक मूल्याङ्कन प्रतिवेदन २०८०/८१ मा उल्लेख छ । नौ वटै जिल्लामा गरी कुल ९४८ किलोमिटर रहेको प्रदेश गौरवको सडकमध्ये १६८ किलोमिटर सडक क्षेत्र ठेक्का लगाइएको थियो । ठेक्का लगाइएकै क्षेत्रमा तदारुकताका साथ काम हुन सकेको छैन भने अझै पनि धेरै खण्डको ठेक्का लाग्नै बाँकी छ । यस्तै ४२९ किलोमिटर सडकको डिपिआर गरिएको छ । कुल सडकमध्ये ३५५ किलोमिटर कालोपत्रे गर्न, ४२० किलोमिटर स्तरोन्नति र ८७ किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको छ । प्रतिवेदन अनुसार प्रदेश गौरवको सडकमा हालसम्म ८४ करोड १७ लाख रुपियाँ खर्च भइसकेको छ । नौ वटै सडक निर्माणका लागि कुल ३७ अर्ब १२ करोड ७४ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । 

कैलालीमा ६० किलोमिटर रहेको भजनी छोटी भन्सार–खिमडी ठुलीगाड सडकको पाँच किलोमिटर ठेक्का लगाएर काम अगाडि बढाइएको थियो । तीन किलोमिटर कालोपत्रे गरिएको र दुई किलोमिटरमा सडक स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीमा ३४.८ किलोमिटर मात्रै डिपिआर भएको छ । 

यसै गरी कञ्चनपुरमा ४७ किलोमिटर रहेको बेलौरी–कलुवापुर–नाइल–बुडर सडकमा नौ किलोमिटर कालोपत्रेका लागि ठेक्का लगाइएको छ । २१ किलोमिटर पहिलेदेखि नै कालोपत्रे थियो । १२ किलोमिटरमा कच्ची सडक छ । यो सडक छिटो निर्माण गर्न दबाब दिनका लागि कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले सडकमै वडा कार्यालय सञ्चालन गरेर जनतालाई सेवा दिइरहनुभएको छ । 

बाजुरामा ६५ किलोमिटर रहेको खप्तड–मार्तडी सडकको २० किलोमिटर कालोपत्रे र ३० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाएर काम भइरहेको छ । अछाममा २०३ किलोमिटरको चिसापानी–ऋषिदह–बडीमालिका सडकको ३५ किलोमिटर ठेक्का लगाइएको छ । 

हालसम्म २३ किलोमिटर स्तरोन्नतिको काम भएको छ । यसै गरी बैतडीमा ९० किलोमिटरको सतबाज–श्रीभावर–हाट–दार्चुला सडकको छ किलोमिटर कालोपत्रे भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै १७ किलोमिटरमा स्तरोन्नतिको कार्य भइरहेको छ । डडेलधुरामा ११५ किलोमिटर रहेको दैजी–पोखरा–ढुङ्गाड–बझाङ सडकको ७५ किलोमिटर ठेक्का लगाइएको र ४० प्रतिशत प्रगति भएको जनाइएको छ । 

डोटीमा १८० किलोमिटर रहेको सहजपुर–बोगटान–दिपायल सडकको २७ किलोमिटर ठेक्का भएको छ । काम अझै जारी रहेको जनाइएको छ । यसै गरी बझाङमा ९५ किलोमिटर रहेको पातीहाल्न–तल्कोट–सैपाल–हुम्ला सडकको १४ किलोमिटर स्तरोन्नति गरिएको छ । थप १० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाइएको प्रतिवेदनमा उल्लेख छ ।