• २१ फागुन २०८१, बुधबार

ओरालो लाग्यो अलैँचीको मूल्य

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २१ गते । हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ ।

साधारण अर्थात् चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म पुगेकोमा अहिले मनमा १२ हजार रुपियाँ घटेको छ । फुङलिङ बजारका व्यवसायी भद्रवीर रेग्मीका अनुसार अलैँचीको मूल्य घट्दै घट्दै मङ्गलबार प्रतिमन ९८ हजार रुपियाँमा आइपुगेको छ । करिब दुई सातायता मनमा एक हजार र दुई हजार रुपियाँका दरले अलैँचीको मूल्य घटिरहेको रेग्मीले बताउनुभयो ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीका अनुसार सोमबार प्रतिमन एक लाख रुपियाँमा अलैँचीको कारोबार भएको थियो । 

एक दिनपछि मङ्गलबार दुई हजारले घटेर ९८ हजार रुपियाँमा अलैँचीको कारोबार भइरहेको उहाँले जानकारी दिनुभयो । अलैँचीको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाउने सम्भावना कायमै रहेको पनि उहाँको भनाइ छ ।

हाल अलैँची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको स्थानीय व्यवसायी बताउँछन् । देशबाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यवसायी रेग्मीले बताउनुभयो । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर हुने उहाँको भनाइ छ ।

ताप्लेजुङमा उत्पादन हुने अधिकांश अलैँची किसानले बेचिसकेका छन् । स्थानीय व्यापारीका अनुसार करिब ८० प्रतिशत बढी अलैँची किसानले बिक्री गरिसकेका छन् । अहिले केही व्यापारी तथा किसानले मात्र मूल्य अझै बढ्न सक्ने आशामा अलैँची थन्क्याएर राखेका बताइएको छ । 

लामो समयपछि यस वर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका छन् । हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी झस्किएका छन् ।

ताप्लेजुङमा प्रमुख नगदेबालीका रूपमा अलैँची खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कुल चार हजार ३०४ हेक्टर क्षेत्रफलमा किसानले अलैँची खेती लगाएका छन् । 

उक्त क्षेत्रफल बराबरको खेतीबाट यस वर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।