• २१ फागुन २०८१, बुधबार

राष्ट्रिय सभाको कार्यतालिका परिमार्जन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय सभाले अध्यादेश स्वीकृतिको प्रस्ताव कुनै पनि बैठकमा समावेश हुने गरी फागुनसम्मको सम्भावित कार्यतालिका परिमार्जन गरेको छ । यसअघि फागुन १५ गतेसम्मको सम्भावित कार्यतालिका बनाउँदा सङ्घीय संसद् सचिवालय अध्यादेश स्वीकृतिको प्रस्तावबारे मौन थियो । 

सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले अध्यादेश पेस भइसकेपछि संसद्को ‘बिजनेस’ अन्तर्गत परेकोले सरकारबाट सन्देश आएलगत्तैको बैठकको कार्यसूचीमा राख्न सकिने बताउनुभयो । उहाँले सोही अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यतालिकामा अध्यादेश स्वीकृतिको प्रस्ताव राख्न सकिने गरी परिमार्जन गरिएको जानकारी दिनुभयो । सहायक प्रवक्ता कोइरालाले भन्नुभयो, “सरकारको औपचारिक निर्णय नै पर्खिनु परेन । दलीय सहमति भयो भने सोही आधारमा प्रस्ताव ल्याउन सकिने भयो ।”

सरकारले छ वटा अध्यादेश गत माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा पेस गरेको थियो । समर्थन प्राप्त दलको प्रतिनिधिका आधारमा राष्ट्रिय सभामा समेत सरकारसँग बहुमत छ तर सरकारबाहिर रहेर समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि अध्यादेश स्वीकृतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस भएको छैन । 

राष्ट्रिय सभाको बैठक फागुन २२, २३ र २५ गते बस्ने छ । परिमार्जित कार्यतालिकाबमोजिम फागुन २२ गतेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम तय भएको छ । फागुन २५ गते कृषि तथा पशुपन्छी र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीसँग प्रश्नउत्तर कार्यक्रम हुने छ । 

फागुन २५ गतेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि निर्णय र विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल र पारित गर्ने सम्भावित तालिका छ ।