• २१ फागुन २०८१, बुधबार

मुख्यमन्त्रीलाई समितिले बुझायो प्रतिवेदन

blog

मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रतिवेदन बुझाउँदै गृहमन्त्री राजकुमार लेखी । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, फागुन २० गते । स्थानीय सेवा (गठन सञ्चालन) ऐन २०८१ को कार्यान्वयनमा देखा परेको समस्या समाधानका लागि सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ ।

स्थानीय सेवा ऐन संशोधन गर्न मधेश प्रदेश सरकारले मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको संयोज्कत्वमा गठन गरेको सुझाव समितिले मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

मुख्यमन्त्रीको निवास मधेश भवन पुगेर समितिका संयोजक मन्त्री लेखीले प्रतिवेदन बुझाउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै सुझाव समितिका संयोजक रहनु भएका गृह सञ्चारमन्त्री लेखीले सुझावसहितको प्रतिवेदन बुझाउनुअघि उक्त ऐनसँग सरोकार राख्ने विभिन्न कर्मचारी संघ संगठन, लोकसेवा आयोग, प्रदेशसभाका सदस्यहरुसँग समितिले छलफल गरेको थियो ।

उक्त सुझाबमाथि मधेश प्रदेशको मन्त्रिपरिषदको बैठकमा छलफल भएपछि संशोधन गर्नुपर्ने विषयवस्तुको अन्तिमरुप दिएर प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । 

मधेश प्रदेश सरकारको मिति २०८१ साल पुष २० गते बसेको मन्त्रिपरिषदको बैठकले गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको संयोजकत्वमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, वन तथा वातावरणमन्त्री त्रिभुवन साह र उर्जा सिँचाइ  तथा खानेपानी मन्त्री शेषनारायण यादव सदस्य रहेको चार सदस्यीए सुझाव समिति गठन गरेको थियो ।