• २१ फागुन २०८१, बुधबार

सिदिङ्वाका चार वडा पूर्णखोप घोषणा

blog

लिम्बुदिनलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको कार्यक्रमका सहभागी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका चार वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । गाउँपालिकाका सातमध्ये वडा ५ लिम्बुदिन, वडा ७ सुरुम्खिम, वडा २ सादेवा र वडा ६ मेहेलेलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार लिम्बुदिन र सुरुम्खिमलाई मङ्गलबार एकैदिन पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूलगायतका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वाथ्यकर्मी लगायतका जनशक्तिको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

यस्तै वडा ७ सुरुम्खिमलाई पनि वडाध्यक्ष लक्ष्मण तामाङसहित अन्य जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका जनशक्ति लगायतको उपस्थितिमा खोप सुनिश्चित वडा घोषणा गरिएको हो । वडा २ सादेवालाई सोमबार गाउँपालिका अध्यक्ष मानबहादुर राईसहितको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मेहेलेलाई पनि सोमबार वडाध्यक्ष रत्नकुमार लिङ्देन लगायतको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।

सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार शाहका अनुसार लिम्बुदिनमा रहेका १५ महिना भित्रका २० जना शिशु र १६ देखि ५९ महिनाका ८५ जना बालबालिकालाई आवश्यक सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । त्यस्तै, सुरुम्खिममा १५ महिना सम्मका २२ र १६ देखि ५९ महिनासम्मका ८५ जना बालबच्चालाई खोप लगाइएको छ ।

यसैगरी सादेवामा १५ महिनाभित्रका नौ र १६ देखि ५९ महिनाका ४४ जना बालबालिकाले पूर्णखोप लगाएका छन् । मेहेलेमा पनि १५ महिना सम्मका ३३ र १६ देखि ५९ महिना सम्मका ७३ जना शिशु तथा बालबालिकाले पूर्ण खोप लगाएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाँकी रहेका वडालाई पनि क्रमशः पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्दै जाने र फागुन मसान्तभित्र गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने तयारी रहेको छ ।