रेखीराम राना
तानसेन, फागुन २० गते । पाल्पाको रिव्दीकोटस्थित दुई सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार दिउँसोदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।
रिब्दीकोट गाउँपालिकाको १ ख्याहास्थित मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा दिउँसोदेखि डढेलो लागेको थियो । डढेलो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा लिन कठिन भएको वडा १ का अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिनुभयो ।
दिउँसो १ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहे पनि हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन समस्या परेको उहाँले बताउनुभयो । डढेलो नियन्त्रणका लागि स्थानीय वन समूहका उपभोक्ता, शसत्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली खटिएको उहाँले बताउनुभयो ।
आगो नियन्त्रणमा नआएकाले वन नजिकैका गैरीगाउँ र देउरालीको डम्वक, लघुवा गाउँ जोखिममा छ । सबैको सहयोगबाट जङ्गलबिचमा रहेको लिफ्ट खानेपानीको विद्युत ट्रान्फर्मर क्षति हुनबाट बचेको छ ।
जङ्गलमा के कारणले आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । वनमा ए्रक्कासी आगलागी हुँदा डढेलोको रुपमा फैलिएर दश हेक्टरभन्दा बढी जङ्गल डढेर खरानी भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा केही दिनयता डढेलो र आगलागीका घटनामा वृद्धि हुँदैगएको छ ।